एसपी रिपोर्टर
काठमाण्डौं, साउन २८ :
कुमारी आमा भनेर चिनिने निहारिका राजपुतको विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले चासो देखाएकी छन् । राष्ट्रपति भण्डारीले शनिबार कानुन, न्याय तथा संसदीय मामिलमन्त्री गोविन्द बन्दी र महान्यायाधिवक्ता खम्मबहादुर खातीसँग निहारिका राजपुतको विषयमा चासो राखेकी हुन् । निहारिकाले शुक्रबार राष्ट्रपति कार्यालयबाहिर आत्मदाहको प्रयास गरेकी थिइन् ।

महोतरीकी निहारिकाले आफूमाथि धनुषाका शिवराज श्रेष्ठले बलात्कार गरेर त्यसको तस्बिर र भिडियो पनि बनाएर ब्ल्याकमेल गरेको बताउँदै आएकी छन् । उनले आफ्नो बच्चाको डिएनए जाँच गरिनुपर्ने माग राख्दै अनशनसमेत बसेकी थिइन् । शुक्रबार आत्मदाहको प्रयास गर्दा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । हाल उनलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

फँस्ने भए बलात्कार होइन भन्ने न्यायधिश भट्टराई

निहारिका राजपुतका रूपमा चिनिएकी सोनालीकुमारी सिंह मुद्दामा आरोपीलाई सफाइ दिने धनुषा जिल्ला अदालतका न्यायाधीशमाथि कारबाहीको तयारी समेत थालिएको छ । निहारिका र प्रतिवादी प्रेम सम्बन्धमा रहेको हुँदा ‘बलात्कार’ नठहर्ने भनी जिल्ला अदालतको फैसला त्रुटिपूर्ण ठहर्‍याउँदै न्यायपरिषद्ले कारबाहीको तयारी गरेको हो ।

आफूलाई नशालु पदार्थ सेवन गराएर बलात्कार गर्ने व्यक्तिलाई कारबाही नभएको भन्दै निहारिकाले शुक्रबार दिउँसो राष्ट्रपति भवन अगाडिको मूल सडकमै पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी थिइन् । कानुनमन्त्री तथा न्यायापरिषद् सदस्य गोविन्द बन्दीले निहारिकाको मुद्दामा फैसला गर्ने न्यायाधीशमाथि कारबाही प्रक्रिया सुरु भइसकेको जानकारी दिएका छन् ।

मन्त्री बन्दीले भने, ‘श्रीमानले पनि श्रीमतीविरुद्ध जबरजस्ती सम्बन्ध राखेमा त्यो बलात्कार ठहरिन सक्ने विद्यमान कानुन रहेको अवस्थामा प्रेम सम्बन्ध रहेकै कारण बलात्कार होइन भन्न मिल्दैन । फैसला गर्ने न्यायाधीशको क्षमतामा प्रश्न उठेकाले न्यायापरिषद्मार्फत कारबाहीको प्रक्रिया सुरु भइसकेको छ ।’

गत माघमा निहारिकाको मुद्दामा जिल्ला अदालत धनुषाले फैसला सुनाएको थियो । जिल्ला न्यायाधीश परशुराम भट्टराईले बलात्कारको अभियोगमा दाबी नपुग्ने भन्दै आरोपीलाई सफाइ दिएका थिए । उक्त फैसलाविरुद्ध निहारिकाले जनकपुर उच्च अदालतमा पुनरावेदन गरेकी छन् । हाल आफ्नो बच्चाको डीएनए टेस्ट गर्नुपर्ने मांग सहित आमरण अनशनमा पनि बसिरहेकी छन् ।