एसपी खबर
जनकपुरधाम, साउन २२:
लोसपाको भ्रातृ संगठन लोकतान्त्रिक विद्यार्थी संघले मधेशका मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गर्दै सभामुखलाई ज्ञापनपत्र बुझाएको छ । आइतबार संघका अध्यक्ष मिथिलेश यादवको नेतृत्वमा मधेश प्रदेशका सभामुख सरोजकुमार यादवलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरिएको हो । मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ कार्यक्रममा भ्रष्टाचार भएको भन्दै अख्तियारले मुद्दा दायर गरिसकेको अवस्थामा मुख्यमन्त्री राउतले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने संघको जिकिर छ । उनीहरूले प्रदेशको | गरिमा बचाउन पनि मुख्यमन्त्रीसहित मन्त्रीमण्डललाई नै बर्खास्त गर्नुको विकल्प नरहेको पनि विद्यार्थी नेताहरूको भनाइ छ । मुख्यमन्त्री कार्यालयद्वारा सञ्चालित स्वच्छता अभियानअन्तर्गत सार्वजनिक जग्गा तथा सामुदायिक विद्यालयमा शौचालय निर्माण, पोखरी सौन्दर्यीकरण, कोभिड अस्पताल निर्माण, जानकी मन्दिर सौन्दर्यीकरण, बिमा योजनालगायत कार्यक्रममा पनि अनियमितता भएको आफूहरूको ठहर भएको संघले विज्ञप्तिमा भनेको छ । विद्यार्थी युनियनका प्रदेश कमिटी अध्यक्ष मिथलेश यादव, केन्द्रीय विद्यार्थी नेता रोशन मिश्र तथा प्रदेश स्तरीय विद्यार्थी नेता त्रिदेव मिश्र, लोकतान्त्रिक विद्यार्थी संघ जिल्ला सचिव सिद्धार्थ चौधरी, जिल्ला विद्यार्थी नेता उमेश दासलगायतका विद्यार्थी नेताको उपस्थितिमा मधेश सरकारको सभामुखलाई बुझाइएको हो । यसअघि, शक्रबार मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रलाई पनि संघले ज्ञापनपत्र बुझाइएको थियो । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तत्कालीन सचिव यमप्रसाद भुसाल, उपसचिव दिलिप प्रधान, सीडीई भगवान झा, शाखा अधिकृत सुरेन्द्रकुमार कर्ण, सहलेखापाल राजाराम मण्डल, जिन्सी शाखाका प्रमुख रामस्वार्थ मण्डल, भन्डार शाखाका खरिदार जीतमोहनकुमार दासलगायतविरुद्ध मुद्दा दायर गरेको हो ।


