एसपी खबर
जनकपुरधाम, साउन २०:

नेकपा एमालेका सचिव रघुवीर महासेठले आसन्न चुनावमा मधेश प्रदेशमा नेकपा एमाले पहिलो पार्टी बन्ने दाबी गर्नुभएको छ । जनकपुरधाममा शुक्रबार भएको नेकपा एमालेसम्बद्ध लोकतान्त्रिक आदिवासी जनजाति महासंघको प्रथम धनुषा जिल्ला सम्मेलनमा सचिव महासेठले मंसिर ४ गते हुन लागेको प्रदेश र प्रतिनिधिसभाको चुनावमा नेकपा एमाले पहिलो पार्टी बन्ने दावी गर्नुभएको हो । सचिव महासेठले स्थानीय चुनावमा मधेश प्रदेशमा पार्टीसँग अन्तर्घात भएको पनि बताउनुभयो । उहाले विभिन्न स्थानमा अन्तघात भए पनि नेकपा एमालेले एक्लै राम्रो नतिजा ल्याएको बताउनुभयो । उहाँले नेपाली कांग्रेस, नेकपा माओवादीलगायत घठबन्धन दललाई एक्लै चुनाव लड्न चुनौती पनि दिनुभयो । गठबन्धनमा आबद्ध दलहरूलाई एक्लै चुनाव लड्न सक्ने हिम्मत नभएर एमालेलाई हराउनका लागि भए पनि गठबन्धन गर्नुपर्ने भन्दै आएको टिप्पणी गर्नुभयो।
सम्मेलनमा नेकपा एमालेका नेता रामचन्द्र मण्डलले राजनीतिक, सांस्कृति, भाषिकलगायत अधिकारका लागि आन्दोलनहरू भए पनि अझै उपलब्धि हासिल हुन नसकेको बताउनुभयो । उहाँले संविधानले अधिकार दिए पनि त्यो पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको बताउनुभयो । त्यस्तै, नेता राजकुमार लेखीले समानुपातिक समावेशीका कुरा कागजमा सीमित भएको बताउनुभयो । अझै पनि आदिवासी जनजातिलगायत उत्पीडित वर्गले अधिकार पाउन नसकेको बताउनुभयो।
सम्मेलनले लोकतान्त्रिक आदिवासी जनजाति महासंघको ३१ सदस्यीय धनुषा कार्यसमिति पनि चयन गरेको छ । चन्द्रबहादुर मोक्तानको नेतृत्वमा चयन गरिएको कार्यसमितिको उपाध्यक्षमा अजयकुमार रज्जन रहेका छन् । त्यस्तै, अर्का उपाध्यक्षमा श्यामसुन्दर अधिकारी, सचिवमा नन्दबहादुर आले, सहसचिवहरूमा विन्दा माझी र अरुण मण्डल र कोषाध्यक्षमा श्यामकुमारी लामा रहेका छन् । सदस्यहरूमा दीपनारायण अधिकारी, किशोर दनुवारलगायत छन्।