एसपी रिपोर्टर
जनकपुरधाम, साउन १६ : धनुषाको सबैलामा एक युवाको दुर्घटनामा मृत्यु भएको भनिएको घटना शंकास्पद रहेको भन्दै परिवारजनले छानबिनको माग गरेका छन् । शनिबार राति सबैलाको सिमरारी सडकखण्डमा जनकनन्दनी गाउँपालिका वडा नम्बर ५ पतनुकाका ३० वर्षीय मुकेश कापडको शव भेटिएको थियो । मुकेशको मृत्यु मोटरसाइकल दुर्घटनाबाट नभई हत्या गरिएको परिवारजनको दाबी छ ।
शनिबार कमला नगरपालिकाको सघाराबाट साथीसँग घर फर्किएरहेका बेला यो घटना भएको हो । मोटरसाइकल चालक मुकेश मृत भेटिएका थिए भने पछाडि सवार सघाराका विनोद साह घाइते अवस्थामा भेटिएका थिए । मृतकका बुवा चुलहाइ कापडले छोराको योजनाबद्ध तरिकाले हत्या गरिएको दाबी गरेका छन् ।

उनले आफ्नो काकी सोमनीदेवीसहित र अन्य आफन्तहरूसँग रिसिइबी रहेको, मुद्दा मामिला चल्दै आएको र मुकेशको हत्या गरिदिने भनेर पटक–पटक भन्दै आएको दाबी गरेका छन् । उनले घाइते रहेका विनोदको मिलेमतोमा हत्या भएको पनि आरोप लगाएका छन् । उनले मुकेशको शरीरमा रड प्रहार गरिएको र विभिन्न ठाउँमा चोटपटक लागेको बताएका छन् ।
त्यस्तै, स्थानीय महेश कुमार यादवले पनि मुकेशको हत्या गरेर सडक फालिएको दाबी गरेका छन् । यता, सबैला इलाका प्रहरी कार्यालयले यो घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । मृतकका परिवारले दिएको उजुरीका आधारमा अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरी निरीक्षक राजकुमार सिंहले जानकारी दिनुभएको छ ।

दुर्घटना हो/होइन भन्ने विषयमा अहिले केही भन्न नसक्ने पनि उहाँले बताउनुभयो । मुकेश कमला नगरपालिकाको सघारास्थित एनआईसी एसिया बैंकमा काम गर्दै आएका थिए । इङ्गेजमेट गरिसकेका मुकेशको केही दिनपछि विवाहको तयारी भइरहेको थियो ।





