एसपी रिपोर्टर
जनकपुरधाम, साउन १४ : श्री गणेश युवा कमिटिको मुख्य परिचयको रुपमा रहेको जनकपुरधामको रामचौक स्थितको श्री गणेश र श्री हनुमान मन्दिरले पुर्णता पाएको छ । जनकपुरधाम क्षेत्रका प्रदेश सांसद परमेश्वर साहको संसदिय विकास कोषबाट गत दुई आर्थिक वर्ष २०७७/०७८ र ०७८/०७९ मा क्रमश २५ र १५ गरि कुल ४० लाखको लागतमा मन्दिरको पहिलो तल्ला, गुम्बज गेट तथा सौन्दर्यकरणका सम्पुर्ण कामहरु सम्पन्न भएको छ ।

शनिवार एक विशेष समारोहका बिच लोसपाका धनुषा अध्यक्ष समेत रहेका सांसद साहले मन्दिरको समुदघाटन गरेका हुन । कार्यक्रममा बोल्दै सांसद साहले कमिटिको युवाहरुको समुहगत काम, एकता र समाजिक सक्रियता लोभलाग्दो रहेको बताउदै सराहना गरेका छन् । उनले कमिटिलाई थप सहयोग गर्ने प्रतिवद्वता गरेका छन् । कार्यक्रममा जनकपुरधामका प्रमुख मनोज कुमार साहले सांसद साहको सहयोगमा कमिटिले गरेको काम जनकपुरधामको सौन्दर्यकरण र पर्यटकिय विकासका टेवा पुरयाएको बताए ।

जनकपुरधामका उपप्रमुख किशोरी साह, जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ र धनुषा चेम्वर्स अफ कर्मशका अध्यक्ष विजय प्रसाद साहले पनि कमिटिको धार्मिक र समाजिक गतिविधि जनकपुरधामको हितमा रहेको बताए । मन्दिरमा बिराजमान श्री गणेश र श्री हनुमान जीको प्रतिमा भएको मन्दिरमा आकर्षकद्वार, मन्दिरको पहिलो तल्ला, बुर्जा, गुम्वज र गेट सहित कमिटिको कार्यालयमा समेत कामहरु गरिएको छ ।

कमिटिका अध्यक्ष सन्तोष कुमार महतोको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष संजय कुमार साहले स्वागत मन्तब्य राख्दै सहयोगका लागि सांसद साहलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा जनकपुरधामका नगर प्रमुख र उपप्रमुख सहित सबै वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुलाई सम्मान गरिएको थियो । साथै सांसद साह, अध्यक्ष महतो र पुर्व अध्यक्ष भण्डारीलाई कमिटिले सम्मान गरेको थियो । कार्यक्रममा कमिटिका पुर्व अध्यक्ष सुरेन्द्र भण्डारी, निर्देशक समिति सदस्यहरु, पुर्व अध्यक्षहरु सहित विभिन्न क्षेत्रका अगुवाहरुको सहभागिता थियो ।





