एसपी रिपोर्टर
जनकपुरधाम, असार ३१ : अनियमित विद्युत् कटौतीले जनजीवन प्रभावित भएको भन्दै जनकपुरधाम उद्योग वाणिज्य संघले नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रको ध्यानाकर्षण गराएको छ । जनकपुरधाम उद्योग वाणिज्य संघले नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रका प्रमुख लखललाल मल्लिकलाई ज्ञापनपत्र बुझाउँदै अनियमित विद्युत् कटौती नगर्न माग गरेको हो ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठको नेतृत्वमा पुगेको टोलीले नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रका प्रमुख मल्लिकलाई ज्ञापनपत्र बुझाएका हुन् । विद्युत कटौतीले समस्या भएकाले प्राधिकरणको ध्यानाकर्षण गराइएको अध्यक्ष महासेठले बताए । ज्ञापनपत्रमा अघोषित रुपमा भइरहेको विद्युत् कटौतीलाई रोक्न माग गरिएको छ । यस्तै अव्यवस्थित विद्युत् तार तथा पोलहरूको व्यवस्थापन गर्न, मर्मतको नाममा सेवाग्राहीबाट लिइने शुल्क खारेज गर्न पनि माग गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रका प्रमुख मल्लिकले विद्युत कटौतीको कुनै तालिका नभएको प्रतिक्रिया दिए । उनले मर्मत सम्भारका बेला विद्युत कटौती गरिदै आएको समेत जानकारी दिए । उनले यसवर्ष १६ प्रतिशत लोड बढिसकेकाले यस्तो समस्या सिर्जना भएको बताए । सो अवसरमा संघका अन्य पदाधिकारीहरु सहित उद्योगी व्यवसायीहरुको उपस्थिती थियो ।





