एसपी रिपोर्टर
जनकपुरधाम, असार ३१ : नेपाल सरकारका संस्कृती, पर्यटन तथा नागरिक उड्यन मन्त्री जिवनराम श्रेष्ठले मिथिला संस्कृती र साहित्य १४ औं शताब्दी देखिकै पुरानो संस्कृती रहेको भन्दै प्रशंसा गरेका छन् । जनकपुरधाममा आयोजित नेपाल विद्यापती पुरस्कर अर्पण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले बिश्वमा साहित्य र सृजनाको अभ्यास सुरु नभएकै बेला १४ औं शताब्दीमा पनि महान आदी कवि विद्यापतीको रचनाले संसारलाई नै चमत्कृत गरेको बताए ।
नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल प्रधानमन्त्री रहेको बेला आदकवी विद्यापतीको नाममा पुरस्कार कोषको स्थापना गरि मिथिला र मैथिलीको मन्थन हुने पावनभुमि राष्ट्रको धरोहर समेत रहेको जनकपुरधाममा कोषले भाषा, साहित्य र संस्कृतीका अभियानीहरुलाई सम्मान गरिरहेको बताए । मैथली भाषा साहित्यको संरक्षण सम्वद्वणका लागि सरकार केहिदिनमै परिर्माजित सांस्कृतीक निती तुर्जमा गर्न लागेको बताए ।
सो अवसरमा मधेश सरकारका उद्योग वन तथा पर्यटन मन्त्री शत्रुधन महतोले प्रदेश सरकार मैथिली र भोजपुरीको विकासका लागि यसपालीको बजेट छुटयाएको चर्चा गरे । सो अवसरमा दूई लाख रुपैयाको नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार मैथिली साहित्यकार एवं रंगकर्मी रमेशरञ्जन झालाई प्रदान गरिएको छ ।
यसैगरी नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कार डा. सूर्यनारायण यादव र नेपाल विद्यापति मैथिली पाण्डुलिपि पुरस्कार लहान नगरपालिकाका अर्जूनप्रसाद गुप्तालाई दिइएको छ । अनुसन्धान र पाण्डुलिपी पुरस्कार एक–एक लाख रुपैयाँको रहेको छ । कोषले नेपाल विद्यापति मैथिली कलासंस्कृति पुरस्कार निर्मला झा र अशोककुमार दत्तलाई प्रदान गरेको छ । कलासंस्कृति पुरस्कार ५०/५० हजारको रहेको छ । निर्मला झालाई मिथिला चित्रकला र दत्तलाई गीतसंगीतका लागि दिइएको छ । अनुवाद पुरस्कारका लागि यसपाली कुनै पुस्तक नपरेकाले पुरस्कार घोषणा गरिएको छैन ।
प्रत्येक वर्ष विद्यापतिको स्मृति दिवसका दिन कातिक महिनामा पुरस्कारको घोषणा गरिदै आएको थियो तर यसपाली ८ महिना ढिलो यरी घोषणा गरिएको छ । हाल अवकाशप्राप्त प्राध्यापक रामचन्द्र यादव अध्यक्ष र रुद्रकुमार झा कोषका सदस्य सचिव रहेका छन् । कोषले २०६८ सालदेखि प्रत्येक वर्ष विद्यापतिको नाउँमा पुरस्कार दिदै आएको छ । कार्यक्रममा बृहतर जनकपुरधाम क्षेत्र विकास परिषदका अध्यक्ष शितल साह, निति आयोगका उपाध्यक्ष भोगेन्द्र झा सहितको सहभागिता थियो ।





