एसपी रिपोर्टर
जनकपुरधाम, असार २१ : जनकपुरबाट अपहरणमा परेका ३ वर्षीय बालकलाई प्रहरीले दुई सातापछि उद्धार गरेको छ । अपहरणमा परेका भारत सीतामढी बर्गनिया प्रखण्ड घर भई जनकपुर उपमहानगरपालिका–७ भमरपुराचोक स्थित एक घरमा डेरा बस्ने हरिओम चौधरीका ३ वर्षीय छोरा सोहन चौधरीको दुई सातापछि धनुषा प्रहरीले उद्धार गरेको हो ।
बालकको अपहरणमा संलग्न एकजना महिलालाई समेत प्रहरीले पक्राउ गरि सार्वजानिक गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका ४ बस्ने ५५ वर्षीया मैथुन खातुन रहेकी छन् । उनलाई घरबाटै मंगलबार दिउँसो पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए ।

गत असार ६ गते बिहान ७ बजे घर अगाडि खेल्न कोठाबाट बाहिर निस्केका बालक बेपत्ता भएका थिए । प्रहरीलाई जानकारी हुने बितिकै बालकको खोजतलासमा धनुषा प्रहरी सक्रिय भएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले इलाका प्रहरी कार्यालय सहोडवा, महोत्तरीको सहकार्यमा अपहरणमा संलग्न महिलालाई घरबाटै पक्राउ गरिएको हो ।





