एसपी रिपोर्टर
जनकपुरधाम, असार २० :
मधेश प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शैलेन्द्र प्रसाद साहले सप्तरीमा नदी नियन्त्रणका चारवटा र सिँचाइ संरचना निर्माणका छ वटा योजना सम्पन्न गर्न जलस्रोत तथा सिँचाइ विकास डिभिजन सप्तरीलाई २० करोड रुपैयाँ पठाइँदा विधि र प्रक्रिया नमिचिएको बताएका छन् । नदी नियन्त्रण मधेशका लागि महत्वपुर्ण र अति आवश्यक काम भएकाले रकम फ्रिज हुनु भन्दा राम्रो काममा सदुपयोगका लागि विधिपुर्वक बजेट रकमान्तर भएको उनको तर्क छ ।

केहि सञ्चार माध्यम तथा सोहिलाई आधार बनाएर सांसदले समेत संसदमा कुरा उठाएकोमा उनले अर्थ मन्त्रालयले सोझै सिँचाइ कार्यालयलाई रकम दिएको कुरालाई अस्वीकार गर्दै मन्त्रालयले सीधा कुनै मन्त्रालयलाई रकम नदिएको र दिन समेत नहुने बताए । ‘अर्थले विधिअनुसार नै रकम दिएको हो । यसका सबै प्रमाण छन्,’ मन्त्री साहले भने ।

पुर्वाग्राही रुपमा बिना आधार समाचार लेख्ने विकृतीको अन्त्य हुनुपर्ने बताएका छन् । प्रदेशसभाको सोमवारको बैठकमा बोल्दै मन्त्री साहले बिना आधार नियतवस आउने समाचारले भ्रम सृजना हुने गरेको समेत बताए । मन्त्री साहले अर्थ मन्त्रालयको काम नै आवश्यकताअनुसार बजेट व्यवस्थापन गरिदिने भएको भन्दै अर्थमन्त्री साहले यसै अनुरुप बजेट पठाएको दावी गरे । उनले अर्थ मन्त्रालयमा अझै रकमान्तरको काम भइरहेको जानकारी दिँदै सप्तरीमा पछिल्लो पटक पठाइएको रकम एक किसिमको रकमान्तर भएको बताए ।

नदीबाट सप्तरीका गाउँबस्ती नै डुबानमा पर्ने निश्चित भएपछि एउटा कार्यक्रमबाट नदी नियन्त्रण र सिँचाइ संरचना निर्माणका काममा रकम पठाइएको मन्त्री साहको भनाइ थियो । उनले सप्तरी जिल्लाका महुली, जिता र भलुवाही नदी नियन्त्रण, आकस्मिक आपत्कालीन तथा बाढीपहिरो पुन:स्थापना तथा विहुल, पाँची, खडक पाँची, हकरह, खाँडो सिँचाइ आयोजनाका क्रमागत योजना सम्पन्न गर्न सम्बद्ध कार्यालयको माग र भौतिक पूर्वाधार विकास मन्त्रालयका निर्णयका आधारमा अर्थले बजेट व्यवस्थापन गरिदिएको जानकारी दिए ।