एसपी रिपोर्टर
जनकपुरधाम, असार १७ : स्थानिय तहको निर्वाचन पछि नव निर्वाचित पालिका प्रमुखहरु सहित पहिलो पटक जिल्ला विपद व्यवस्थापन समितिको बैठक बसेको छ । जनकपुरधामको एक होटलमा समितिकै आयोजना र नेपाल रेडक्रस सोसाइटी धनुषाको सह आयोजनमा आयोजित पालिका देखि जिससका नव निर्वाचित प्रमुख उपप्रमुखसंगको परिचय, बधाई शुभकामना, अन्तरक्रिया समन्वय, सर्वदलिय सर्वपक्षिय बैठक एवं समितिको बैठकमा मनसुन सक्रिय रहेकाले जिल्लामा हुन सक्ने बाढी, डुबान, समस्या र चुनौती तथा समाधानका विषयमा विर्मश गरिएको छ ।

कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आ आफनो पालिकामा हुन सक्ने बाढी डुबानको समस्या बारे सचेत र सर्तक रहन तथा सक्दो जोखिम न्युनिकरणका लागि तयारी अवस्थामा रहन जनप्रतिनिधीहरुलाई आग्रह गरेका थिए । पालिका प्रमुखहरुले बाढी डुबानका बेला हुने विद्युत, स्वास्थ्य, खानेपानी सहितको समस्याका लागि सम्बन्धित निकायहरु पनि तयार रहनुपर्ने बताए ।
अन्य पालिका प्रमुख तथा उपप्रमुखहरुले पनि आ आफनो पालिकाको सम्भावित समस्या र जोखिमका बारेमा स्पष्ट गरेका थिए । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा हुने समितिले जिल्लामा हुने विपद व्यवस्थापनको काम गर्ने गरेको छ ।





