जनकपुरधाम, २४ बैशाख :
आसन्न स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदका स्वतन्त्र उम्मेदवार बलराम महतोले शनिबार एकै दिन नगरभित्रका ९ वटा वडामा घरदैलो सम्पन्न गरेका छन् ।
चुनावी प्रचार अभियानको अब ६ दिन मात्रै बाँकी रहेको समयमा महतोले शनिबार जनकपुरधामको वडा नम्बर–४ र १२ कटैया चौरी, वडा नम्बर–१० र ११ कन्या स्कुल, वडा नम्बर–२५ लोहना, वडा नम्बर–१७ कटरैत, ओसर र कनकपट्टी, वडा नम्बर–१९ शिहपुर टोल, वडा नम्बर–१८ महुवा, वडा नम्बर–१६ कपिलेश्वर टाmे र वडा नम्बर–२१ कुर्थामा घरदैलो गरेका हुन् ।
उपमेयर पदका उम्मेदवार निर्मल चौधरीसँगै घरदैलोमा पुगेका महतोले जनकपुरधामको ग्रामीण वडाका अधिकांश व्यक्ति कृषिमा निर्भर रहेकाले कृषिमा आधुनिक प्रविधिको प्रयोग बढाएर कृषकहरुलाई आत्मनिर्भर बनाउने बताएका छन् ।
स्थानीय किसानले उत्पादन गरेको सामग्रीको उचित मूल्य पाउन नसकेको समयमा महतोले कृषिलाई आधुनिक प्रविधिसँग जोडेर रोजगारी सिर्जना गर्ने बताए ।
उनले भने, ‘किसानहरुले उत्पादन गरेको सामाग्री उचित मूल्य पाउन नसक्नुको मूल कारण समयमा बजारसम्म पुग्न नसक्नु र विचौलियाहरुको आतंक हो ।’
आफू निर्वाचित भए किसानहरुको उत्पादन बजारसम्म पुर्याउने र बिचौलियाहरुको बिगबिगी अन्त्य गर्ने उनले बताए ।
घरदैलोको क्रममा महतोले आफ्नो उम्मेदवारीको उद्देश्य र एजेण्डाहरु मतदातालाई सुनाउनुका साथै मतदाताको समस्या समेत सुनेका थिए । मतदाताहरु समक्ष उनले विभिन्न प्रतिवद्धताहरु पनि व्यक्त गरेका थिए ।