जनकपुरधाम, बैशाख २५ :
नेकपा एमालेका सचिव रघुवीर महासेठले यस पटकको स्थानीय तहको निर्वाचन एमालेका लागि प्रतिष्ठाको विषय बनेको बताएका छन् ।
जनकपुरधाम उपमहानगरपालिकामा एमालेको नगरप्रमुखका उम्मेदवार शिवशंकर साह हिरा र उपप्रमुखको उम्मेदवार रुना झाका लागि मतदातासंग मत माग्न पुगेका महासेठले यो निर्वाचन एमालेका लागि प्रतिष्ठाको विषय रहेको बताए । स्थानीय तह निर्वाचन एमालेका लागि मात्रै नभई एमालेमा लागेका सबै व्यक्तिका लागि प्रतिष्ठाको विषय बनेको उनको भनाई थियो ।
एमालेले पछिल्ला केही वर्षमा गरेको विकास निर्माणका कार्यहरुबाट त्रसित भएर एमालेलाई पराजित गर्न ५ दलमा उभिएको महासेठले आरोप लगाए । उनले भने ‘कांग्रेस बर्षोसम्म देशमा सरकार चलायो तर विकास गर्न सकेन तर केपी ओली नेतृत्वको सरकारका कारण देशको मुहार नै परिवर्तन भएको छ ।’ अगाडी भने ‘यही परिवर्तनलाई देखेर बाँकी दल त्रसित भएका छन्, गठबन्धन गरेर एमालेलाई पराजित गर्ने दिवास्वप्न देखि रहेका छन् ।’
महासेठले गठबन्धन गरेर अन्य दलहरु चुनाव लडेपनि एमाले एक्लै अधिकांश पालिकामा जीत निकाल्ने दावी गरे । देशमा आर्थिक उन्नति तथा सामाजिक विकासका लागि एमालेका उम्मेदवारलाई मत दिन उनले आग्रह गरे ।
जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखका उम्मेदवार शिवशंकर साह हिराले युवाहरुको भविष्य उज्जवल बनाउनका लागि आफूलाई मतदान गर्न आग्रह गरे । क्षणिक प्रलोभनमा लागे युवाहरुको भविष्य नै अन्धकारमय हुने हिराको भनाई छ । उनले आफ्नो छोरा छोरीको भविष्य उज्जवल तपाईहरुको हातमा रहेकाले मतदान गर्दा विचार पुर्याउन आग्रह गरे ।
कार्यक्रममा पुर्व मन्त्री एवं एमाले नेतृ जुली महतोको समेत उपस्थिति रहेको थियो ।


