जनकपुरधाम, बैशाख २३ :
जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका बलराम महतोले एकै दिन ७ वटा वडामा घरदैलो सम्पन्न गरेका छन् ।
चुनावी प्रचार अभियानको अब केही दिन मात्रै बाँकी रहेको समयमा महतोले जनकपुरधामको वडा नम्बर ३ देवान पोखरी, वडा नम्बर ५ जानकी मन्दिर पछाडी, वडा नम्बर ७ भ्रमरपुरा चोक, वडा नम्बर १० देवी चोक, वडा नम्बर १३ रतन चोक, वडा नम्बर २१ कुर्था र वडा नम्बर २२ बसविट्टीमा घरदैलो गरेका हुन् । घरदैलोको क्रममा आफूले उम्मेदवारी किन दिएको र आफ्नो एजेण्डा मतदाताहरुलाई सुनाउनुका साथै मतदाताहरुको समस्या समेत सुनेका थिए । घरदैलोको क्रममा मतदाताहरु समक्ष उनले विभिन्न प्रतिवद्धताहरु व्यक्त गरेका थिए ।
घरदैलोकै क्रममा उनले युवाहरुलाई खेलकुदप्रति अभिप्रेरित गर्ने योजनामा काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । युवाहरु कुलतमा फसिरहेको समयमा खेलकुदप्रतिको वातावरण राम्रो बनाउन र खेलकुद क्षेत्रको विकासका लागि आफूले काम गर्ने बताए ।
यसका साथै जनकपुरधाममै रहेको रामजानकी रंगशाला लथालिंग अवस्थामा रहेको समयमा सो रंगशाला निर्माणका लागि समेत पहल गर्ने बताए । खेलकुदका साथै आफूले शिक्षा, स्वास्थ्य तथा कृषि लगायतको क्षेत्रमा विज्ञहरुको सल्लाह अनुसार काम गर्ने बताए ।