जनकपुरधाम, २३ बैशाख :
जनकपुरधाम उपमहानगरपालिकाका लोकतान्त्रिक समाजवादी पार्टीबाट मेयरका उम्मेदवार मनोज कुमार चौधरीले आफ्नो चुनावी संकल्प पत्र घोषणा गरेका छ्न् ।
चौधरीले प्रस्तुत गरेको संकल्पपत्रमा गुणस्तरीय शिक्षादेखि लिएर जनकपुरधामको पर्यटकीय क्षेत्रको विकासका लागि यहाँका धार्मिक महत्वका स्थल तथा मठमन्दिरहरुको सौन्दर्यीकरण गर्ने उल्लेख गरेको छ ।
चौधरीले आफू विजयी भएपछि टोलफ्री नम्वर मार्फत नगर प्रमुख जनतासँग सिधा सम्पर्क राख्न व्यवस्था गर्ने, पर्यटकहरुका लागि एउटा धार्मिक स्थलबाट अर्को धार्मिकस्थलसम्मका लागि नगरबस सञ्चालनमा ल्याउने बताएका छन् ।
उनले २९ बुँदे संकल्प पत्रमा नीतिगत तथा संस्थागत भ्रष्टाचार मुक्त जनकपुरधाम निर्माण, कृषि बजार तथा कृषि उत्पादनको व्यवस्थापन, जनकपुरधामलाई व्यवसायिक ‘हव’ बनाउने, बाह्य रिङ्गरोड निर्माण गरी ऐतिहासिक, धार्मिक तथा पर्यटकीय नगरको रुपमा विकास गरी आधुनिक जनकपुरधामको रुपमा विकास गर्ने, ल्याण्डफिल्ड साइटको व्यवस्थापन गरी जनकपुरधाम क्षेत्रभित्र रहेको फोहरमैलाको वैज्ञानिक प्रविधिद्वारा व्यवस्थित गरी फोहरबाट मोहर बनाउने, नगरभित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयहरुमा स्थानीयस्तरमा पाठ्यपुस्तक तयार गरी पठनपाठनको शुरुवात गर्ने, महिला तथा युवाहरुलाई शीपमुलक तालिम दिई स्वरोजगारको व्यवस्था गर्ने, युवा स्वरोजगार अन्तरगत कृषि व्यवसायी, कुखुरा पालन, माछा पालन, दुग्ध व्यवसाय, पुष्प खेती, तरकारी बाली उत्पादन लगायका कामको व्यवस्था गर्ने रहेको छ ।
त्यस्तै नगरपालिका भित्र सूचना अधिकारी नियुक्त गरी सञ्चारकर्मीहरुलाई चाहिएको सूचना समयमै उपलब्ध गराउने, महिलालाई शीप मुलक तालिम अन्तरगत मिथिला पेन्टिङ्ग, सिलाई बुनाई, ब्युटिशियन, कम्प्यूटर लगायतका तालिमको व्यवस्था गरी स्वरोजगार योजनालाई सार्थकता दिइने, प्रतिभावान, गीतकार, संगीतकार, कलाकार, पत्रकार र खेलाडीहरुका लागि प्लेटफर्म बनाई प्रतिभा झाल्काउने छुट्टै योजना ल्याउने, जनकपुरधामका परिक्रममा सडक लगायत विभिन्न सार्वजनिक स्थलमा शौचालयको निर्माण गर्नुका साथै नगर क्षेत्रभित्र प्रत्येक दुई सय मिटरमा फोहर मैला संकलन गर्ने सञ्जालको निर्माण गर्ने, प्रत्येक वार्डमा फ्रि वाईफाई तथा सीसीटीवी जोनको स्थापना गर्ने, बुद्धिजीवि, समाजसेवी तथा विषयगत विज्ञहरुलाई समेटेर जनकपुरधामको दिगो विकासको योजना निर्माण तथा कार्यान्वयनका लागि ‘थिन्कटयांक’ निर्माण गर्ने, नगरभित्र महिला हिंसा न्यूनिकरणका लागि छुट्टै टोलफ्रि नम्वरको व्यवस्था गरी तत्कालै कारवाहीको लागि कर्मचारी खटाउने लगायतको रहेको छ ।
संकल्पनपत्र घोषणा कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष एवं प्रदेश साँसद परमेश्वर साह, उपमेयरका उम्मेदवार रिता मिश्र, केन्द्रिय सदस्य संजय चौधरी लगायतको उपस्थिति रहेको थियो ।





