जनकपुरधाम, बैशाख २० :
धनुषाको लक्ष्मिनीयाँ गाउँपालिकाका एमालेको अध्यक्ष पदका उम्मेदवार अजय यादवले गाउँपालिकामै रोजगार श्रृजनाको वातावरण बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
लक्ष्मिनिया गाउँपालिका वडा नम्बर १स्थित सोहनी सिनुरजोरा, अरेरवामा उपाध्यक्षको उम्मेदवार भोली यादवसंगै घरदैलोमा पुगेका अजयले गाउँपालिकामै रोजगारी श्रृजना गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले स्वरोजगारमूलक सीपको तालिम दिएर रोजगारी श्रृजना गर्ने बताए । उनले घरदैलोको क्रममा मतदातासंग भने ‘मलाई गाउँपालिकाको सर्वांगिन विकासका लागि एक पटक अवसर दिनुस ।’
उनले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, खेलकुद लगायत सबै क्षेत्रमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरे । आफु जिते गाउँपालिकालाई नमुना गाउँपालिकाको रुपमा स्थापित गर्ने, पालिका भित्र ‘समान शिक्षा र सुलभ स्वास्थ्य उपचार सबैका लागि’ अभियान, कक्षा ८ देखि प्राविधिक क्षिक्षाको शुरुवात, प्रत्येक वडामा स्मार्ट शौचालयको स्थपना, पालिकामा रहेका अतिविपन्न परिवारको पहिचान गरि रासन वितरण गर्ने कार्यक्रम लागु गर्ने उनको भनाई थियो ।