जनकपुरधाम, वैशाख १६ गते :
जनकपुरधाम उपमहानगपालिकाको विभिन्न पदमा उम्मेदवारी दिएका मध्ये १५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
निर्वाचन अधिकृतको कार्यालय जनकपुरधाम उपमहानरपालिकाका अनुसार नगरप्रमुख पदमा २ जना, उपप्रमुखमा १, वडाध्यक्षमा ११ र सदस्यमा १ जना गरी १५ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् ।
नगरप्रमुख पदबाट उम्मेदवारी फिर्ता लिनेहरुमा वैद्यनाथ प्रसाद साह र नन्दन कुमार भगत रहेको जनकपुरधाम निर्वाचन अधिकृत कार्यालयका प्रमुख ब्रजेश प्याकुरेलले जानकारी दिए । जनकपुरधामको नगरप्रमुखमा ४१ जनाले उम्मेदवारी दिएकामध्ये २ जनाले फिर्ता लिएसंगै ३९ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
आफू समाज सेवामा रमाउने व्यक्ति रहेको र राजनीति म बाट हुन सक्दैन भन्ने कुरो केही दिनमै बुझि सकेकाले उम्मेदवारी फिर्ता लिएको वैद्यनाथले प्रतिक्रिया दिएका छन् । उनले भने ‘जनताले जुन दिन मलाई आफै उम्मेदवार बनाउँछ त्यो दिन मात्रै आफूले उम्मेदवारी दिनेछु ।’
यसअघि समानुपातिक सूचीमा नाम रहेको उपप्रमुखका स्वतन्त्र उम्मेदवार सरोज मिश्र, वडा नम्बर १ बाट अध्यक्षका उम्मेदवार भोला साह र एक जना महिला सदस्यको उम्मेदवारी दाबी विरोधपछि उम्मेदवारी रद्द गरिएको थियो ।
यता निर्वाचन आयोगले उम्मेदवारी फिर्ताका लागि शुक्रबार साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय निर्धारण गरेको थियो । तर त्यो समयावधीमा जनकपुरधामको प्रमुखमा कांग्रेस परित्याग गरेको घोषणासंगै नगरप्रमुखमा उम्मेदवारी दिएका कांग्रेसको बागी उम्मेदवार मनोज साहले उम्मेदवारी फिर्ता लिएनन् ।
कांग्रेस सभापति शेयरबहादुर देउवाको आग्रहलाई अस्वीकार गर्दै निर्वाचन आयोगले दिएको समयसीमा सकिँदा पनि साहले उम्मेदवारी फिर्ता लिएनन् । नेपाली कांग्रेसले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता नलिए कडा कारबाही गर्ने चेतावनी दिए पनि साहले उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेका हुन् ।
साहले गठबन्धन कुनै हालतमा स्वीकार्य हुन नसक्ने बताए । उनले भने ‘आफू बैशाख ९ गते नै औपचारिक रुपमा पार्टी परित्याग गरिसकेकाले गठबन्धनको निर्णयले आफूलाई कुनै फरक पर्दैन ।’ उनले प्रश्न गर्दै अगाडी भने, ‘पार्टीले मलाई के निष्कासन गर्छ ? म यसअघि स्वयं नै पार्टीबाट राजीनामा दिइसकेको छु । त्यसैले यसले मलाई कुनै फरक पर्दैन ।’





