जनकपुरधाम, वैशाख १५ :
नेकपा एमालेबाट जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखमा उम्मेदवारी दिएका शिवशंकर साह हिराले नगरलाई भ्रष्टाचार मुक्त बनाउनका लागि आफूले उम्मेदवारी दिएको बताएका छन् ।
संघियता स्थापित भएपछि भएको स्थानीय तह निर्वाचनबाट जनकपुरधामले पाएको जनप्रतिनिधिहरु भ्रष्टाचारमा चुर्लुम्म डुबेको तीतो अनुभव जनकपुरवासीको रहेकाले भ्रष्टाचार मुक्त जनकपुरधाम बनाउन आफू अग्रसर भएको दावी गरे । उनले आफू नगरप्रमुखमा निर्वाचित भए उपमहानगरपालिकाको कार्यालयमा भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको सिद्धान्तलाई पालन गर्ने वचनवद्धता व्यक्त गरे । उनले भने ‘आफू नगरप्रमुखमा निर्वाचित भए उपमहानगरको कार्यालयका साथै अन्य कार्यालयहरुमा हुने भ्रष्टाचारमाथी समेत रोक लगाउन पहल गर्ने छु ।’
जनकपुरधाम धार्मिक नगर रहेकाले यहाँका मठ मन्दिरहरुलाई व्यवस्थित गरेर पर्यटकीय नगरीको रुपमा विकास गर्ने उनले अठोट व्यक्त गरे ।
आफ्ना यीनै एजेण्डाहरुका साथ एमालेको जनकपुरधाम उपमहानगरको नगरप्रमुखका उम्मेदवार हिरा वडा नम्बर २० देवपुरा रुपैठाका मतदताहरु समक्ष पुगेका थिए । उनले मतदाताहरुलाई जनकपुरधामको सर्वांगिन विकासका लागि निस्वार्थ भावले काम गर्ने वचनवद्धता व्यक्त गरे । घरदैलोमा उनीसंगै एमालेको उपप्रमुखका उम्मेदवार रुना झा, वडा नम्बर २०को वडाध्यक्षका उम्मेदवार मोती राइन कवारी सहित एमालेका नेता कार्यकर्ताहरुको समेत उपस्थिति रहेको थियो ।





