जनकपुरधाम, वैशाख १४ गते :
मिथिला विहारी नगरपालिकाको मेयर पदका प्रत्याशी सीता यादवले घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । जनता समाजवादी पार्टीबाट मिथिला विहारी नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएकी यादवले मतदाताको घरघरमा पुगेर मत मागी रहेकी छिन् । उनी संगै जसपाबाट उपप्रमुख पदको उम्मेदवार रहेका जीवछ यादव समेत घरदैलोमा सहभागी भएका थिए ।
मतदातासंग मत माग्दै प्रमुख पदको उम्मेदवार सीताले आफू महिला उम्मेदवार रहेकाले आफूले अन्य उम्मेदवारहरुभन्दा गतिशिलताका साथ काम गर्ने दावी गरिन् । उनले आफूबिरुद्ध कयौँ पुरुष उम्मेदवार रहेपनि महिलाहरुका साथै दलित गरिबका लागि केही गर्नु छ त्यो सोचका साथ आफूले उम्मेदवारी दिएकाले अवसर दिन मतदाताहरुलाई आग्रह गरे ।
घरैदैलो कार्यक्रमका लागि प्रमुख यादवका उम्मेदवार सीता मिथिला विहारी नगरपालिका वडा नम्बर ४स्थित कजरा रमौल पुगेका थिए । उनको घरदैलो कार्यक्रममा महिलाहरुको सहभागिता समेत उल्लेख्य रहेको थियो ।
मेयर पदका प्रत्याशी सीताले आफू नगरप्रमुखमा निर्वाचित भए पालिकामा भ्रष्टाचारलाई निर्मूल पार्ने दावी गरिन । यसका साथै पालिकाको शिक्षा, स्वास्थ्य, कृषिको क्षेत्रमा यस अघिका मेयरले गर्न नसकेको काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गरिन् ।


