जनकपुरधाम, फागुन ९ :
जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखको स्वतन्त्र उम्मेदवार बलराम महतोले आफू निर्वाचित भए ग्रामिण वडाहरुको विकासमा समेत जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन् । केही साता अगाडी देखि नै घरदैलोमा व्यस्त रहेका स्वतन्त्र उम्मेदवार महतोले ग्रामिण वडाहरुको अवस्था देखेर आफू चिन्तित रहेको भन्दै यी वडाहरुको विकासमा समेत जोड दिने प्रतिवद्धता व्यक्त गरे ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ कपिलेश्वर र वडा नम्बर १८ महुवा भोइल पुगेका महतोले यी वडाहरु मात्रै नभई जनकपुरधामको साबिक वडाहरुको विकासमा समेत वर्तमान जनप्रतिनिधिले ध्यान नदिएको भन्दै आक्रोश व्यक्त गरे । उनले भने ‘आफूलाई न कुनै लोभ छ, न कुनै स्वार्थ त्यसैले मलाई जनकपुरधामको विकासका लागि काम गर्ने मेरो ईच्छा तथा सपना छ ।’ यो सपना पूरा गर्नका लागि आफूले जनकपुरधामवासीको साथ र सहयोग खोजेको महतोले बताए ।
वडाहरुलाई वर्तमान नगरप्रमुखले अधिकारविहिन बनाएकाले वडाहरुको विकास हुन नसकेको उनको भनाई थियो । महतोले आफू विजयी भए वडाहरूलाई अधिकार सम्पन्न बनाउने बताए । आफैले सबै अधिकार राखेर उपमहानगरपालिकामा मेला लगाउने काम आफूले नगर्ने महतोको भनाई थियो । उनले जनकपुरधामको पुरानो समस्याका रूपमा रहेको फोहोर व्यवस्थापन र ल्याण्डफिल्ड साइटको अभाव रहेको बताउँदै उनले यसको व्यवस्थापन पहिलो प्राथमिकतामा राखेको जानकारी दिए ।





