जनकपुरधाम, वैशाख ७ गते :
सत्तारुढ गठबन्धनको बैठकबाट जनकपुरधाम उपमहानगरपालिका जनता समाजवादी पार्टी (जसपा)को कोटामा परेपछि नेपाली कांग्रेसका कार्यकर्ताहरु बिरोधमा उतरिएका छन् । जनकपुरधामको विद्यापति चोकमा नेपाली कांग्रेसका कार्यकर्ताहरुले गठबन्धनको बिरोधमा प्रदर्शन गरेका हुन् ।
कांग्रेसी कार्यकर्ताहरुको मनसंग खेलवाड गरिएको भन्दै कांग्रेसी कार्यकर्ताहरु टायर बालेर सभापति शेरबहादुर देउवा र गठबन्धन बिरुद्ध नारावाजी गरेका हुन् । कांग्रेसी कार्यकर्ताहरुले नेपाली कांग्रेस जिन्दावाद, शेरबहादुर देउवा मुर्दावाद, मधेशको दलालसंग गठबन्धन गर्न पाइदैन भन्दै नारावाजी समेत गरेका थिए ।
नेपाली कांग्रेस नगर समितिका कोषाध्यक्ष वीरेन्द्र यादवले जनकपुरधाममा नेपाली कांग्रेस एक्लै लड्न सक्ने स्थितिमा रहेको बेला मधेशको दलाल दललाई यो पालिका दिनु निन्दनीय रहेको बताए । केन्द्रिय गठबन्धनले हाम्रो भावनासंग खेलवाड गरेपछि बिरोधमा उतरिनु परेको यादवले बताए । आफूहरु यो ठगबन्धनलाई स्वीकार नगर्ने उनले चेतावनी दिए ।