जनकपुरधाम, बैशाख ७ :
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकबाट ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको भागबण्डा मिलाएको हो । सो भागबण्डाको आधारमा जनकपुरधाम उपमहानगरपालिका जनता समाजवादी पार्टी (जसपा)को भागमा परेको छ ।
गठबन्धनको बैठकबाट जनकपुरधाम उपमहानगरपालिका जसपालाई दिने निर्णय गरेपछि स्थानीय नेपाली कांग्रेसका कार्यकर्ताहरु आक्रोशित देखिएका छन् । केन्द्रमा गठबन्धनले गरेको निर्णयलाई आफूहरुले नमान्ने नेपाली कांग्रेस जनकपुरधामका नगरसभापति मनोज साहले बताएका छन् ।
गठबन्धनको यो निर्णय नेपाली कांग्रेसलाई आघात पुर्याउने हिसाबले गरिएको भन्दै यो निर्णयको घोर भत्र्सना गर्नुका साथै कडा बिरोध गर्ने नगर सभापति साहले चेतावनी दिए । उनले भने ‘हामीले केन्द्रिय निर्णयको बिरोध गर्छौँ, यसले कांग्रेसी कार्यकर्ताहरुको मनमा आघात पुगेको छ ।’ अगाडी भने ‘यो निर्णय बिरुद्ध वडा समिति, नगर समिति, क्षेत्रीय समिति सबै आक्रोशित छन् ।’
उनले जिल्ला उपलब्ध शिर्ष नेताहरुसंग छलफल गरेर आगामी रणनीति तयार गर्ने र गठबन्धनको बिरोधमा उतरिने चेतावनी दिए ।
यता नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारले केन्द्रमा गठबन्धन गर्ने निर्णय स्वीकार गर्नुपर्ने बाध्यता रहेपनि स्थानीय कार्यकर्ताहरुको आक्रोशप्रति आफ्नो सहमति रहेको प्रतिक्रिया दिए । उनले बिहिबार नेता कार्यकर्ताहरुबिच छलफल गरेर आगामी योजनाको विषय निर्णय गर्ने जानकारी दिए ।