एसपी रिपोर्टर
जनकपुरधाम, चैत २० :
जनकपुरधाममा ‘जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सव हुने भएको छ । यही चैत २३ गतेबाट सुरु हुने महोत्सवको विषयमा आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । मैथिली विकास कोषले गर्न लागेको महोत्सवमा नेपाल तथा भारतका साहित्य, कला तथा नाट्य विधासम्बद्ध व्यक्तिहरू सहभागी हुने छन् ।

महोत्सवमा १० वटा विषयमा संवाद गर्नुका साथै चित्रकला, पुस्तक प्रदर्शनी, ज्ञानसिपको प्रदर्शनका साथै संगीत क्षेत्रका विशिष्ट व्यक्तिहरूको पनि सहभागिता रहने छ । महोत्सवका क्रममा मैथिली, नेपाली तथा हिन्दी भाषामा नाटकहरू मञ्चन गर्ने आयोजकले जनाएको छ । महोत्सवमा भारतका ३ वटा र नेपालका दुई नाट्य समूहले सहभागी जनाउने छन् । नेपाली भाषामा काठमाडौंको नाट्य टोली तथा हिन्दीमा भारतको मणिपुरका नाटक टोली सहभागी हुने कोषका अध्यक्ष जीवनाथ चौधरीले जानकारी दिनुभएको छ ।

महोत्सवमा सांस्कृतिक झाँकीसहितको शोभा यात्रा, रंगारंगारंग कार्यक्रम, मिथिला चित्रकला कार्यशाला तथा प्रदर्शनी, बहुभाषिक नाट्य प्रदर्शन, गरमागरम संवाद, सांस्कृतिक कार्यक्रम, मिथिला भोजन तथा पुस्तक प्रदर्शनी तथा विद्यालयस्तरीय वक्तृत्व कला प्रतियोगिताको आयोजना गरिने छ । महोत्सवका कार्यक्रमहरू जनकपुरधामको जानकी मंन्दिरको प्राङ्गण र जनकपुरधाम उद्योग वाणिज्य संघमा गरिने पनि कोषका अध्यक्ष चौधरीले जानकारी दिनुभएको छ ।

महोत्सवका क्रममा चार श्रष्टालाई पुरस्कार प्रदान गरिनेछ । डा. धिरेन्द्र साहित्य संस्कृति पुरस्कार २०७७ भाषा वैज्ञानिक रामअवतार यादवलाई र सलहेश सांस्कृतिक पुरस्कार २०७७ डा. आभाष लाभलाई, डा. धिरेन्द्र साहित्य संस्कृति पुरस्कार २०७८ साहित्यकार मधेन्द्र मिश्र र सलहेश सांस्कृतिक पुरस्कार २०७८ गायक रामा मण्डललाई प्रदान गरिनेछ । दुवै पुरस्कारमा ५१ हजार राशीको छ । महोत्सव चैत २५ गतेसम्म चल्नेछ ।