एसपी रिपोर्टर
जनकपुरधाम, चैत २० :
जनकपुरधामको पिडारीचौक स्थित मुख्य सडकमा राजर्षिराजा जनक हलो जोत्दै गर्दा माता सिताको उत्पती भएको चित्र सहितको पार्क बनाएका समाजसेवी बलराम महतोले पुलचौकमा हाई टावर लाइट जडान गरिदिएका छन् ।

करिव एक लाख पर्ने सो टावर लाइट जडान समुदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै समाजसेवी महतोले पुलचौकमा लाइट बालेर आफु जनकपुरधाम र जनकपुरधामबासीमा उज्जयालो अभियान सुरु गर्न लागेको बताएका छन् । जनकपुरधाममा पार्क, धर्मशााला, मठमन्दिर, युवा कमिटिमा लगानी गर्दा पनि आफुलाई ठेकेदारको नजरले मात्र हेर्ने गरेकोमा दुःख व्यक्त गर्दै उनले अव जनकपुरधामको सेवा गरेर र विकास गरेर जिवनको विश्राम लिन चाहेको बताएका छन् ।

आफुलाई कुनै दलले विश्वास गरे ठिक नभए स्वतन्त्र रुपमा समेत मेयरमा उम्मेदवार हुने र जनकपुरधामको विकासका लागि अग्रसर हुने उनले बताए । काठमाण्डौंबासी र देशका शिर्षनेताहरुले विश्वास गर्दा आफुले देशकै गौरव धरहरा बनाइदिएको बताउदै उनले जनकपुरधाम पनि सेवा मुलक रुपमा बनाउन चाहेको बताएका छन् ।

कार्यक्रममा पुलचौकवासीहरुले महतोलाई धन्यवाद दिदै दलहरुलाई परिक्षण गरिसकेकाले अव समाजसेवीहरुलाई अवसर दिने बताएका थिए । पुलचौकको मुख्यचौकमै टावर लाइट जडान भएपछि चौकवासी खुसी भएका छन् ।

कार्यक्रममा वरिष्ठ ई. लालबाबु साह, व्यवसायी मुन्ना साह, पुलचौकका अगुवा रामबरण यादव सहितको उपस्थिती थियो ।