एसपी रिपोर्टर
जनकपुरधाम, चैत १५ : आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि धनुषामा यसपटक मतदानस्थल घटेर ३२३ पुगेको छ भने मतदान केन्द्र बढेर ५९६ पुगेको छ । यसअघि २०७४ सालमा भएको स्थानीय निर्वाचनमा धनुषामा ३२७ मतदानस्थल र ५४८ मतदान केन्द्र थिए । राष्ट्रिय दललगायत ३२ वटा दलहरु दर्ता भएका छन् ।
निर्वाचन कार्यालय धनुषाका प्रमुख श्रीधर पन्थीले राष्ट्रिय मान्यता प्राप्त दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीसहितका ३२ दलले दल दर्ता गरेको जानकारी दिएका हुन् । जिल्लामा प्रमुख निर्वाचन अधिकृतको कार्यालयसँगै पालिकाहरुमा निर्वाचन अधिकृतको कार्यालयसमेत स्थापना भईसकेको छ ।
निर्वाचनका लागि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम धनुषा जिल्लाका लागि जिल्ला अदालत धनुषाका जिल्ला न्यायाधिश व्रजेश प्याकुरेललाई २०७८ चैत २९ गतेदेखि लागूहुनेगरी मुख्य निर्वाचन अधिकृत तोकिएको छ ।
यस्ता छन् धनुषाका १८ पालिकाका निर्वाचन अधिकृतहरु
औरही गाउँपालिकामा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकाका उपसचिव राजेश शशि, कमला नगरपालिकामा जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता धर्म अवतार कोइराला क्षीरेश्वरनाथ नगरपालिकामा धनुषा जिल्ला अदालतका स्रेस्तेदार विकास बस्नेत, गणेशमान चारनाथ नगरपालिकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकृत रुपेश कुमार साह, जनकनन्दनी गाउँपालिकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव ठुलोबाबु दाहाललाई निर्वाचन अधिकृत तोकेको छ ।
त्यस्तै, धनुषाधाम नगरपालिकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकृत चिरञ्जिवी गौतम, धनौजी गाउँपालिकामा उच्च सरकारी वकील कार्यालय जनकपुरका उपन्यायाधिवक्ता पोषराज खनाल, नगराइन नगरपालिकामा मुख्य न्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता सुदिप कुमार दंगाल, बटेश्वर गाउँपालिकामा उच्च अदालत जनकपुरका उपरजिष्ट्रार उद्धव ढोडारी, मिथिला नगरपालिकामा न्याय परिषद्का उपसचिव दिपक धिताल, मुखियापट्टी मुसहरनिया गाउँपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत शिवहरी पौड्याललाई निर्वाचन अधिकृत बनाइएको छ ।
उता, लक्ष्मीनिया गाउँपालिकामा शिक्षा विकास निर्देशनालयका उपसचिव चुडामणि फुँयाल, मिथिला बिहारी नगरपालिकामा उच्च अदालत जनकपुरका उपरजिष्ट्रार राजु पराजुली, विदेह नगरपालिकामा गृह मन्त्रालयका उपसचिव अनुज भण्डारी, शहीदनगर नगरपालिकामा परराष्ट्र मन्त्रालयका विशाल भट्टराई, सबैला नगरपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत बासुदेव पाण्डे र हंसपुर नगरपालिकामा सर्वोच्च अदालतका एजलास अधिकृत कर्णबहादुर राईलाई निर्वाचन अधिकृत तोकेको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धनुषामा मात्रै ४ लाख ६७ हजार ३२८ जना मतदाता रहेका छन् । जसमध्ये महिला २१ लाख ८ हजार ५४२, पुरुष २४ लाख ८ हजार ८४० र अन्य समूहका ६ जना छन् । निर्वाचन आयोगले निर्वाचन व्यवस्थापन अभिमुखिकरण कार्यक्रम बैशाख १ गते सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, धनुषा र रौतहटका लागि जनकपुरधाममा र बारा र पर्साका लागि बैशाख २ गते हेटौंडामा गर्ने जनाएको छ ।


