एसपी रिपोर्टर
जनकपुरधाम, चैत ३ : जनकपुरधाममा चार दिवसीय ‘जनकपुर साहित्य–कला महोत्सव’ को आयोजना हुन लागेको छ । मैथिली विकास कोषको आयोजनामा यही चैत २२ देखि २५ गतेसम्म महोत्सवको आयोजना हुने कोषका अध्यक्ष जिवनाथ चौधरीले बताए । मिथिलाको साहित्यबाट राष्ट्रलाई परिचित गराउने, आधुनिक तथा मौलिक कलारुपको प्रर्दशन तथा विमर्श, साहित्यकला र कलाकारको प्रर्वद्धन एवं पर्यटन प्रर्वद्धन तथा देशी–विदेशी पर्यटकहरुलाई आकर्षित गर्न सक्ने संभावनाको खोजी गर्ने मूल उद्देश्यका साथ महोत्सव आयोजना हुन लागेको उनले बताए ।
अध्यक्ष चौधरीले स्थानीय समाजलाई आफ्नो संस्कृतिप्रति सचेत, शिक्षित र सुसंस्कृत बनाउने प्रयत्नस्वरुप अरु भाषाभाषी वा सांस्कृतिक समूहहरुलाई र संसारका अन्य भागका कलाकर्मीलाई मिथिला संस्कृतिको विशिष्टताबाट परिचय गराउने र नेपालको आधुनिक रंगमञ्च, कला, संगीत, नृत्य वा साहित्य समृद्धिको लागि प्रयत्न गर्नु यस महोत्सवको मुख्य उद्देश्य रहेको स्पष्ट पारे ।
उनले यस महोत्सवले समग्र नेपाली सभ्यतालाई समृद्ध तथा बहुआयामी बनाउने दावीसमेत गरेका छन् । नेपालभित्रका विभिन्न सांस्कृतिक क्षेत्र र भाषा–भाषी बीच सांस्कृतिक सम्बन्धको विस्तार तथा स्वीकारोक्तिको संस्कार बलियो बनाउने उनको विश्वास छ । महोत्सवमा सम्भावित सहभागी नाटक ५ वटा समावेश गरिने छ । त्यस्तै सांस्कृतिक कार्यक्रमका साथै विभिन्न विमर्शमा ९ वटा सत्र हुने र त्यसमा १२० सहभागी रहने उनले जानकारी दिए ।
अध्यक्ष चौधरीले भने,‘नेपालको दोस्रो र मधेस प्रदेशको सबैभन्दा बढी बोलिने जनताको भाषा मैथिली हो । आठौं शताब्दीदेखि साहित्य लेखनको निरन्तरता र सम्पूर्ण भारोपेली भाषा परिवारकै जेठो र समुन्नत भाषा मैथिली नेपाल तथा भारतमा बोलिनेहरुको ठूलो संख्या भएपनि हाल यस प्रदेशको राजधानी जनकपुरधाम मैथिली भाषा साहित्य र संस्कृतिको मुख्य केन्द्रको रुपमा स्थापित छ । संसारभरिकै अध्येता, विद्वान, सर्जक र कलाकर्मीहरु जनकपुरधामप्रति चासो प्रकट गर्दछन् ।
आधुनिक कालमा पनि यहाँका लेखक, कलाकार र विद्वानहरुले अथक श्रम र सिर्जनात्मक प्रतिवद्धताका कारण जनकपुरधामलाई नेपालकै कला, साहित्य र बौद्धिक विमर्शस्थलको रुपमा कायम गरिराखेका छन् ।’ ‘जनककालीन विमर्शको परम्परालाई जनकपुरधामले अहिले पनि अक्षुण्ण राखेको छ । दुई–दुई वर्षको अन्तरालमा मैथिली विकास कोषले अन्तर्राष्ट्रिय नाटक महोत्सव तथा साहित्य महोत्सवको आयोजना गर्दै आएको छ,’उनले भने,‘ विगतमा भव्य रुपमा यस्ता तीनवटा आयोजनाहरु कोषले सम्पन्न गरिसकेको छ । नेपाल तथा भारतका विभिन्न विषय विज्ञहरुलाई आमन्त्रण गरि जनसरोकारका विषयहरु सहित राज्यको नीतिगत तहमा सुझाव समेत विद्वानहरुबाट प्राप्त हुनेगरि विषय निर्धारण गर्ने गरिएको छ ।’
साहित्य कलाका साथै अर्थ, कृषि, पर्यटन, वातावरणका साथै युवा, महिला र आम सञ्चारका क्षेत्रमा पनि उक्त महोत्सवमा गहन विमर्श हुने गरेको बताउँदै चौधरीले मैथिली विकास कोष मैथिली भाषाको समृद्धि र विकासको क्षेत्रमा निरन्तर कार्य गर्ने संस्था रहेको स्पष्ट पारे । महोत्सवमा नाटक प्रर्दशन, सडगीत तथा नृत्य प्रर्दशन, मैथिली चित्रकला तथा हस्तकलाको प्रर्दशनी, पुस्तक प्रर्दशनी र एक दर्जन भन्दा बढी विभिन्न विषयहरुमा विमर्श गर्ने गरिएको उनले जानकारी दिए ।
टुडे आवाजबाट


