एसपी रिपोर्टर
जनकपुरधाम, फागनु २ :
भ्यालेन्टाइन डे को दिन जनकपुरधामका युवा युवती बहकिने र गलत क्रियाकलाप गर्ने गरेका बेला जनकपुरधाम स्थित हिमाली ईन्गलिश बोर्डिङ्ग स्कुलले भने पृथक कार्यको सुरुवात गरेको छ । स्कुलले आफनो विद्यालयका विद्यार्थीहरुको अभिभावक आमाबुवा दुवैलाई बोलाएर आज मातृपितृ पुजनीय दिवस मनाउने परम्पराको थालनी गरेको छ ।

विद्यालयमा आमन्त्रणा स्वीकार गरि उपस्थिती हुन सकेका करिव १ सय ५० अभिभावकलाई उनका सन्तान विद्यार्थीहरुले विधिवत स्कुल प्राङ्गणमै पुजापाठ गरेका थिए । बुवाआमालाई पुजा गर्ने पुरोहितको विधिवत मन्त्रोचारण सहित विद्यार्थीहरु आफना अभिभावक मातापितालाई सात पटक परिक्रमा समेत गरि पुजा गर्दै विद्यालयले उपलब्ध गराएको मिष्ठान परिकारले अभिभावकको मुख गुलियो पारेका थिए ।

भ्यालेन्टाइन डे कै दिन पर्ने यो दिवस भारतमा धेरै पहिला देखि मनाउदै आएको भएपनि जनकपुरधाम स्थित हिमाली ईन्गलिश बोर्डिङ्ग स्कुलले यस वर्ष देखि यस्को थालनी गरेको स्कुलले जनाएको छ ।