एसपी रिपोर्टर
जनकपुरधाम, माघ २२ :
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्व आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लागेको छ ।

विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन् ।

सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ ।

गान्धर्व पुराणमा आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ । एता अधिकांश स्थानमा भोलि पनि सरस्वती पूजा मनाउने तयारी छ । धनुषाको ग्रामिण क्षेत्रमा भोली (आइतवार) मात्र सरस्वती पुजा गरिने तयारी छ । दुईदिनदेखि चलेको हावाहुरी, बढेको चिसो र वर्षाले यस वर्षको सरस्वती पूजाको तामझाम प्रभावित गरेको छ ।