एसपी रिपोर्टर
जनकपुरधाम, माघ ९ : जनकपुरधाम स्थित प्रादेशिक अस्पताल अस्तव्यस्त रहेको सेवाग्राहीहरूले गुनासो गरेका छन् । आइतबार मधेश प्रदेशसभाअन्तर्गतको महिला बालबालिका तथा सामाजिक न्याय समितिले गरेको आकस्मिक अनुगमनका क्रममा बिरामीका परिवारजनले यस्तो गुनासो गरेका हुन् ।
समयमा उपचार सेवा पाउन नसकेको, चिकित्सकहरूले समयमा बिरामीलाई हर्न नआएको, स्वास्थ्य बिमाअन्तर्गतका औषधीहरू पाउन नसकेको, ल्याबको सेवा शुल्क अत्यधिक रहेकोलगायत समस्या प्रादेशिक अस्पतालमा देखिएको उनीहरूले बताएका छन् । समितिका सभापति जयनुल राइनले पनि अस्पताल अस्तव्यस्त रहेको आफूहरूले अनुमगनका क्रममा पाएको बताउनुभयो । उहाँले आर्थिक अवस्था कमजोर भएकाहरूले प्रादेशिक अस्पतालबाट निःशुल्क सेवा र औषधी पाउनुपर्ने भए पनि त्यस किसिमको अवस्था नदेखिएको बताउनुभयो ।

सभापति राइनले मेसु र निमित्त मेसु अनुपस्थित रहेको प्रादेशिक अस्पताल अभिभावक विहीन देखिएको पनि बताउनुभयो । अस्पतालमा देखिएको लापरबाही र अव्यवस्थाका विषयमा सोमबार नै सामाजिक विकासमन्त्री नवलकिशोर साहसँग सोधपुछ गर्ने उहाँले जानकारी दिनुभयो । अनुगमनका क्रममा अस्पतालमा उपस्थित स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर रामनरेश पण्डितले अहिले उपलब्ध जनशक्ति र उनीहरूले गर्ने कामको तरिकाका विषयमा अनुगमन टोलीलाई जानकारी दिनुभएको थियो ।

डाक्टर पण्डितले बिमा गराएका बिरामीलाई आवश्यक औषधी उपलब्ध गराउन नसकेको स्वीकार गर्दै ल्याब टेष्ट भने अन्य ठाउँको भन्दा प्रादेशिक अस्पतालमा सस्तो रहेको दाबी गर्नुभयो । डाक्टर पण्डितले सरसफाइ कर्मचारी ४० जनाभन्दा बढी रहेपनि सोचअनुसार काम हुन नसकेको भन्दै ठेक्का प्रणालीमा सफाई कर्मचारी राख्नुपर्ने बताउनुभएको थियो । अनुगमनमा समितिका सदस्यहरू परमेश्वर साह, रानीशर्मा तिवारी, प्रमिलादेवी दास, सरस्वती चौधरीलगायत पनि पुगेका थिए ।



