एसपी रिपोर्टर
जनकपुरधाम, माघ ७ : धनुषामा मास्क नलगाउनेलाई जिल्ला प्रशासनले अब १०० रूपैयाँ जरिवाना तिराउने भएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा पनि मास्क नलगाउने प्रवृत्ति देखिएको भन्दै स्थानीय प्रशासनले कडाई गर्ने भएको हो । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले मास्क लगाउन दुई दिन चेतनामूलक कार्यक्रमको आयोजना गरिएको बताए ।
शुक्रबार र शनिबार चेतनामूलक कार्यक्रम गरेपछि पनि मास्क नलगाउने जो कोही फेला परे जरिवाना असुल गरिने उनले बताए । प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार आइतबारदेखि मास्क नलगाउनेसँग रु १ सयका दरले जरिवाना असुली गरिनेछ ।

शुक्रबारदेखि मास्क लगाउन भन्दै चेतनामूलक कार्यक्रम गर्दा नलगाउनेलाई मास्क पनि वितरण गरिएको छ । जनकपुरधाम उद्योग बाणिज्य संघले जनकपुरधामको मुख्य बजार क्षेत्रमा मास्क लगाउन जनचेतनामूलक कार्यक्रम गर्नुका साथै जनकचौकमा मास्क डेस्कको समेत व्यस्था गरेको अध्यक्ष जितेन्द्र महासेठले बताए । मधेश प्रदेशमा ओमिक्रोन र कोरोनाको संक्रमण बढदै गएपनि मास्क प्रयोगमा लापरवाही भइरहेको छ ।


