एसपी रिपोर्टर
जनकपुरधाम, पुष २० :
सक्रिय पत्रकार तथा युवा अभियन्ता सुरेश यादवको गणेशमान चारनाथ नगरपालिका–५ सखवोनी क्वाशे टोल स्थित घरमा आगजनी गरिएको छ । अपरिचिति व्यक्ति वा समुहले पुस २० गते आगजनी गरेको पत्रकार यादवले बताएका छन् । आगजनीले काठ, माटो र जस्ताको छानाले छाएको घर पूर्ण रुपमा जलेर नष्ट भएको यादवले बताए । यादवले समाजिक सञ्जालमा लेखेका छन्, ‘मैले कस्को के बिगारेको छु, आमा विरामी हुनु भएर जनकपुरधाममा उपचार गराई रहेको थिएँ, आमालाइ थप उपचारको लागि बुधवार चितवन लैजाने तयारीमा रहेकै वेला बुवाले विहानै घरमा आगजनीले घर नै जलेर नष्ट भएको खवर दिनुभयो ।’

आगजनीको क्रममा रघुनाथपुर स्थित शुभ श्री बचत तथा ऋण सहकारी संस्थाबाट कर्जा लिएको २ लाख ८५ हजार रुपैयाँ नगद, काठको दराज, एक सेट सोफा, पलङ, ओढ्ने–ओछ्याउने सहित सम्पूर्ण लत्ताकपडा, आमाको कानमा लाउने झुम्का, टप र दालचामल समेत सम्पूर्ण घरायसी प्रयोगका सरसामान गरि करिव १५ लाख रुपैया बरावरको समान जलेर खरानी भएको पीडित पत्रकार यादवले बताए ।

घटनाबारे इलाका प्रहरी कार्यालय ढल्केवर र जिल्ला प्रहरी कार्यालय धनुषालाइ जानकारी गराएपछि प्रहरीको टोली घटना स्थल पुगेर मुचुल्का उठाएको स्थानिय मिथिला साहले बताए । उनले पत्रकार यादव विगत एक वर्षदेखि सवैला नगरपालिकामा भई रहेको भ्रष्टाचारबारे जनतालाई जागरुक्क गराउँदै भण्डाफोर अभियान र सुचना माग गर्दै सवैला नगरपालिकामा निरन्तर करिव दुई महिना सम्म धर्नामा बसेको जनाउदै दोषिको पहिचान गरि कारवहीको दायरामा ल्याउन आग्रह गरेका छन् । स्थानिय पत्रकार मनोज पासवानले शितलहरको समयमा मान्छे बस्ने घरमा आगजनी गर्नु निकै दुःख घटना भएको बताउँदै घटनाको छानविन गरि दोषी उपर कडा कारवाही गर्नुपर्ने मांग गरेका छन् ।