एसपी रिपोर्टर
जनकपुरधाम, पुष १६ :
वक्ताहरुले दलित समुदायको नागरिकमा पहुँच र महिला शस्क्तीकरण नभए सम्म समग्र दलित समुदायको उत्थान हुन नसक्ने बताएका छन् । जनकपुरधाममा एनपिआईको जातीय भेदभाव विरुद्वको परियोजनाले आयोजना गरेको दलित अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देव नारायण विश्वकर्माले दलित समुदायको मुख्य समस्या नागरिकता पनि रहेको बताए । नागरिकको पहिचान खुल्ने र सेवा सुविधाका लागि अति आवयश्क नागरिकतानै नभएपछि लक्षित वर्ग भएपनि दलित समुदाय सेवा र सुविधाबाट बञ्चित हुन पुगेको उनको तर्क छ ।

नेपाल सरकारका पुर्व सचिव डा. मान बहादुर विश्वकर्माले पनि वृद्व भत्ता पाउनकै लागि भएपनि बुढेसकालमा मात्र नागरिकताको जरुरी महसुश हुने भएकाले समेत दलित समुदाय नागरिकताबाट बञ्चित रहेको पाइएको भन्दै विशेष अभियान चलाउन आवयश्क रहेको बताए ।

अन्तरक्रिया कार्यक्रममा उपस्थित विभिन्न क्षेत्रका वक्ताहरुले पनि रोजिरोटी र दैनिकी टार्न समेत नागरिकता भन्दा कामलाई विशेष प्राथमिकता दिइएकाले दलित समुदाय नागरिकता लिन नपाएको भन्दै भत्ता र सुविधाको व्यवस्था गरेर भएपनि नागरिकता लिन प्रेरित गर्ने अभियान आवश्यक रहेको धारणा राखेका थिए । कार्यक्रममा एनपिआईका प्रमुख सुरेन्द्र बोगटी, प्रदेश २ प्रतिनिधी बिनोद महरा सहितको उपस्थिती थियो ।