एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर २२ :
विवाहपञ्चमीको अवसरमा जय परशुराम मञ्च नेपालले जनकपुरधाममा दर्शनालुहरुलाई निःशुल्क भोजन एवं औषधि वितरण गरेको छ । विवाहपञ्चमीको मेलामा भारतलगायतका ठाउँहरुबाट जनकपुरधाम आएका श्रद्धालुभक्तजनका लागि जनकपुरधाममा बुधबार निशुल्क भोजन एवं औषधि वितरण गरिएको मञ्चका अध्यक्ष चन्दन रायले बताएका छन् ।

विवाहपञ्चमीमा आस्थाका साथ जनकपुरधाम आउने भक्तजनहरुको भीडलाई मध्यनजर गर्दै कोहि पनि भोकै नबसुन भन्ने सेवा भावले भोजन तथा आवश्यकता भएकाहरुलाई सहयोग गर्ने उद्देश्यले औषधीको समेत व्यवस्थापन गरि यो अभियान चलाइएको अध्यक्ष रायले बताए । उनका अनुसार ४२ भन्दा बढीलाई भोजन खुवाइएको छ ।

उनले भने, ‘यस्तो धार्मिक एवं सांस्कृतिक अनुष्ठानका बेला थोरै भए पनि नागरिकलाई सहयोग गर्नु हाम्रो धर्म हो ।’ जानकी प्राचिन मिथिलाको राजधानी यसै जनकपुरधामको छोरी रहेको र जनकपुरधामकी छोरी जगत जननी माता जानकीको विवाहमा आउने पाहुनाहरुको सेवा जनकपुरधामवासीको धर्म भएकाले यो सहयोग गरिएको उनको तर्क छ ।

विवाहपञ्चमीमा जनकपुरधाम आएका बेला अलपत्र तथा समस्यामा परेका श्रद्धालुको उद्धार तथा राहत गर्ने उद्देश्यले निःशुल्क खाना एवं औषधि वितरण अभियान सञ्चालन गरिएको छ । जनकपुरधामका अन्य सामाजिक संघसंस्थाहरुले समेत आज निःशुल्क भोजन, औषधि, पानी सहितका विभिन्न शिविरहरु सञ्चालन गरेका छन् । औषधी वितरणमा मञ्चका जितेन्द्र ठाकुरको सक्रिय सहभागिता थियो ।