एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक २९ :
प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत भएको साइकल खरिदमा प्रारम्भिक अनुसन्धानका क्रममा भ्रष्टाचार भएको देखिएको अख्तियारले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रमुख कृष्णप्रसाद सापकोटाले प्रारम्भिक चरणको अनुसन्धानमा भ्रष्टाचार भएको देखिएको पुष्टि गरेका छन् । बेग्लै अनुसन्धान अधिकृत तोकेर दोस्रो चरणको अनुसन्धान भइरहेको र भ्रष्टाचार प्रमाणीत भए मुख्यमन्त्री कार्यालयका अधिकारी पदाधिकारी जो सुकैलाई समेत कारवाही हुने उनले बताए ।

https://www.facebook.com/watch/?v=2767935420165784

जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै सापकोटाले साइकल खरिद प्रकरणको प्रारम्भिक अनुसन्धानमा भ्रष्टाचार देखिएको र प्रारम्भिक अनुसन्धान टुंगिएर दोश्रो चरणको विस्तृत अनुसन्धान सुरु भएको बताए । त्यसमा छुट्टै अनुसन्धान अधिकृत नियुक्ति भएको समेत उनले बताए । भ्रष्टाचार प्रमाणीत भए भ्रष्टाचारको कसुरमा मुद्दा दायर हुने उनको भनाई छ ।

उनले विस्तृत अनुसन्धानमा साइकल खरिदमा संलग्न अधिकारीहरुलाई छुट्टाछुट्टै बोलाएर बयान लिनु पर्ने भएकोले डेढदेखि दुई महिना समय लाग्ने बताए । गत असोज १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मुख्यमन्त्री कार्यालयमा छापा मारेर साइकल खरिद सम्बन्धी कागजात नियन्त्रणमा लिएको थियो । जस्को प्रदेश २ सरकारले चर्को आलोचना गरेको थियो भने प्रमुख सत्तारुढ जनता समाजवादी पार्टीले मुख्यमन्त्रीको बचाउमा अख्तियार विरुद्ध आन्दोलन नै गरेको थियो ।