एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक १२ : प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले दक्ष स्वास्थ्यकर्मी उत्पादनमा ध्यान दिन मधेश स्वास्थ्य विकास प्रतिष्ठानलाई निर्देशन दिनुभएको छ । जनकपुरधाममा प्रतिष्ठानले गरेको कार्यशाला गोष्ठीमा मन्त्री साहले दक्ष जनशक्ति उत्पादन हुने किसिमको पाठ्यक्रम निर्माण गर्न निर्देशन दिनुभएको हो ।
प्रतिष्ठानले बीएसस्सी नर्सिङ र बीएनएसको पाठ्यक्रम निर्धारणका विषयमा शुक्रबार नर्सिङ कलेजका प्राध्यापक तथा विशेषज्ञहरूसँग सुझाव लिएको छ । गोष्ठीमा मन्त्री साहले राम्रो पाठ्यक्रम निर्माणमा सहयोग गर्न सहभागीहरूसँग आग्रह गर्नुभयो ।
प्रदेश २ मा राम्रो उपचारको अभावमा हरेक दिन यहाँका जनता प्रदेश १ र बागमति प्रदेशमा करोडौ रुपैयाँ खर्च गर्दै आएको भन्दै उहाँले यो अवस्थाको अन्त्य गर्न पनि प्रतिष्ठान अब्बल बन्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डाक्टर रामकेवल साहले प्रदेश २ मा गुणस्तरीय स्वास्थ्य सेवाका लागि स्वास्थ्यसम्बन्धी शिक्षा पनि गुणस्तरीय हुनुपर्ने बताउनुभयो । यसका लागि आफूहरू प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।
प्रतिष्ठानले चार वटा विषयहरू बीएसस्सी नर्सिङ, बीएन नर्सिङ, बीपीएच र बीएमएलटी अध्ययन अध्यापनका लागि २०–२० सिटको स्वीकृति पाइसकेको छ । पहिलो चरणमा प्रतिष्ठानले कात्तिक मसान्तबाट बीएसस्सी नर्सिङ र बीएन नर्सिङको कक्षा सुरु गर्ने तयारी गरेको छ । यसैको पाठ्यक्रम निर्माणमा सहयोगका लागि प्रतिष्ठानले देशका विभिन्न स्थानका नर्सिङ कलेजका प्राध्यापक तथा विशेषज्ञहरूसँग सुझाव लिएको हो ।


