एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक १० : पुर्व महिला बालबालिका तथा समाज कल्याण मन्त्री जुली कुमारी महतोले महिला हिंसा न्युनीकरण सहितका सवालहरुमा कानुन र नितिको कमी नरहेको बताउदै कार्यान्वयन पक्ष फितलो हुँदा समस्या भइरहेको बताएकी छन् । जनकपुरधाममा महिला आयोगको आयोजनामा भएको सुरक्षा निकाय संग महिला हिंसा निवारणको लागि रणनितिक योजना बैठक र अन्तरक्रिया कार्यक्रममा बोल्दै एमाले नेतृ समेत रहेकी महतोले प्रदेश २ सरकारको महिला मन्त्रालय समेत पुरुषको नेतृत्वमा रहेको तर्फ ध्यानाकर्षण गराएकी छन् ।

कार्यक्रममा महिला आयोगकी अध्यक्ष कमला पराजुलीले नेतृत्वको सवालमा २०४९ सालको स्थानिय तहको निर्वाचनमा देश भरिमै मात्र एक वडा काठमाण्डौं महानगरपालिकाको वडा नं. १० मा मात्र महिला वडा अध्यक्ष रहेको स्मरण गराउदै र्वतमान परिपेक्षमा महिला नेतृत्व अगाडि आएपनि अझैपनि समावेशीता र समानुपातिकताको सवालमा विभेद हुने गरेको बताइन ।
अहिलेको अवस्थामा जुन सुकै निकायमा पनि महिलाको सहभागिता देखिनु सकारात्मक रहेको बताउदै उनले सहभागिता सार्थक, सफल र शसक्त हुन आवयश्क रहेको उनको तर्क थियो । कार्यक्रममा आयोगकी सदस्यहरु विद्या सिंह र जया घिमिरे सहित प्रदेश २ र धनुषाका सुरक्षा निकायका प्रमुख, धनुषाका प्रमुख जिल्ला अधिकारी, महिला अधिकारकर्मी, महिला अगुवा सहितको सहभागिता रहेको थियो ।


