एसपी रिपोर्टर
जनकपुरधाम, असोज २९ :
असत्य माथी सत्यको जित भएको विशेष दिनका रुपमा आजको दिन विजयादशमीलाई मनाइन्छ । विभिन्न काल खण्डमा आदीशक्ति माता दुर्गा भवानीले दुष्ट राक्षसको बध गरेको, महाभारतमा भगवान श्री कृष्ण सहित सत्यको पक्षधर समुहको जित आजकै दिन भएको भन्दै विजयादशमीका दिन विजय उत्सव मनाइन्छ भने भारतिय संस्कृती हुदै नेपाल सहितको देशहरुमा आजकै दिन रावणको बध गरि भगवान श्री राम असत्य उपर जित हात पारेको भन्दै उत्सव मनाउने गरिन्छ ।

(हेर्नोस भिडियो)

https://www.facebook.com/watch/?v=1441125409614346

यसै मान्यताका कारण जनकपुरधाममा आजकै दिन सांकेतिक रावण बध गर्ने कार्यक्रम आयोजना गरिन्छ भने यहाँ स्थित श्री जानकी मन्दिर र श्री राम मन्दिरबाट विशेष डोला निकाल्दै डोलाको नेतृत्वमा नगरभित्र विजय जुलुस निकालिन्छ । गत वर्ष कोरोना कहरका कारण सो कार्यक्रमहरु स्थगित गरिएको थियो । शुक्रवार विजयादशमीको अवसरमा माता श्री जानकी मन्दिरवाट माता जानकीको डोला सहित जनकपुरधाम नगर दर्शन गराइएको छ ।

महाभारतमा भगवान श्री कृष्णको रथमा रहेको ध्वजामा महाविर (हनुमान) जी सवार रहेको र फलस्वरुप असत्य माथी जित हात पार्न सकिएको भन्दै आजकै दिनलाई विशेष मान्दै महाविर(हनुमान)जीको ध्वजारोहन गर्ने परम्परा रहिआएको छ । जानकी मन्दिरको प्राङ्गणमा रहेको हनुमान जीको ध्वजारोहन समेत आजकै दिन गरिएको छ । नयाँ ध्वजा सहित माता जानकी जीको डोला निकालेर विवाह मण्डपमा पुगेर पुजापाठ गरिएपछि जानकी मन्दिरमा विशेष विधीका साथ आजैका दिन ध्वजारोह गरिने चलन रहेको छ ।

विजयादशमीलाई विजयोत्सवको दिनको रुपमा मनाइन्छ । सम्झनामा परम्परागत रुपमा मिथिलाको राजधानी जनकपुरधाममा निकालिने विजय उत्सव रयाली यस वर्ष समेत निकालिएको छ । विजयादशमीकै दिन जनकपुरधाम स्थित भगवान श्री राम मन्दिरवाट राम जीको डोला सहितको विजय यात्रालाई आज पनि निरन्तरता दिइएको छ ।

भगवान श्री रामले असत्यको बाटो हिडेका दुष्ट रावणलाई परास्त गर्दै उनको बध गरि आजकै दिन असत्य माथी जित हात पारेको र आदीशक्ति माता नवदुर्गा भवानीको पुजा गरेको हुनाले आजकै दिन जनकपुरधाममा विजय यात्रा समेत निकालिएको छ । श्री राम मन्दिरवाट भगवान श्री सितारामको डोला सहित मन्दिर र युवा क्लवहरुका प्रतिनिधीहरु जनकपुरधामको श्री जनकमन्दिर, श्री दशरथ मन्दिर सहित विभिन्न क्षेत्रको नगरपरिक्रमा गर्दै जानकी मन्दिर पुगेर त्यहाँ टिकाटालो र परम्परागत विधी गरेपछि पुनः राम मन्दिर फर्किने चलन छ । रावण बधको कार्यक्रम भने साँझ आयोजना हुन्छ । यस वर्ष श्री राम मन्दिरका महन्थ श्री राम गिरीको नेतृत्वमा रावण बधको कार्यक्रम तय भएको छ ।

माता राजदेवी मन्दिरमा नवदेवी, हनुमान र भैरवको पुजा र महाप्रसाद पनि आजै

एता आजै माता राजदेवी मन्दिरमा नौं कन्या (बालिका) हरुलाई नवदुर्गा भवानी माताको नौं स्वरुप मान्दै पुजापाठ गरिएको छ भने बालकहरुलाई हनुमान जी र भैरव बाबाको स्वरुपमा पुजा पाठ गरि भब्य महाप्रसाद कार्यक्रमको आयोजना गरिएको छ । आज पनि यस कार्यक्रमलाई निरन्तरता दिइएको हाम्रा सहकर्मी संजय साहले बताए । महाप्रसादमा युवा क्लव, नागरिक समाजका अगुवा, विभिन्न क्षेत्रका प्रतिनिधीहरु, विशिष्ठ व्यक्तिहरु सहित नगरवासी र सर्वसाधारणलाई समेत सहभागिता गराईन्छ ।

तस्वीरमा हेर्नोस

जनकपुरधाममा मनाइने विजयोत्सवमा देवी, देवता, नगरवासी मात्र नभई सांकेतिक रुपमा विभिन्न जिवजन्तु, भुतप्रेत सहितका समेत नाचगान गर्दै सहभागिता जनाएको दृश्यहरु एकदमै रोचक हुने गरेको छ ।

दृश्य र तस्वीर : संजय साह