एसपी रिपोर्टर
जनकपुरधाम, असोज १३ : प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले साइकल वितरण सम्बन्धी कागजात नियन्त्रणमा लिएर फर्केको छ । बुधबार दिउँसो आएको टोलीले प्रदेश २ को बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत कक्षा ८ मा अध्ययन गर्ने छात्रालाई साइकल वितरण गरिएको सम्बन्धी सम्पुर्ण कागजात नियन्त्रणमा लिएर गएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
साइकल वितरणमा अनियमितता भएको उजुरी परेपछि छानबिनका लागि अख्तियारको केन्द्रीय कार्यालय टंगाल र बर्दिबासस्थित कार्यालयको टोलीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छापा मारेको थियो । कागजात नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको अख्तियारका अनुसन्धान अधिकृत उपसचिव मेघनाथ रिमालले जानकारी दिए ।

मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा २०७६ असार १६ गते बसेको बैठकले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गर्ने निर्णय गरेको थियो । सो निर्णय अनुसार ९ करोड ८४ लाख १८ हजार रुपैयाँको १४ हजार थान साइकल किनेर २६२ विद्यालयका प्रधानाध्यापकलाई बोलाएर ८ कक्षामा पढ्ने छात्राका लागि भनी साइकल दिइएको थियो ।
प्रदेश २ का ८ जिल्लाका सामुदायिक विद्यालयका छात्रालाई वितरण गर्ने भने पनि विद्यार्थीको संख्या यकीन नगरी साइकल वितरण गरिएको थियो । प्रधानाध्यापकमार्फत दिइएको साइकल विद्यार्थी समक्ष पुगेको वा नपुगेको पनि प्रष्ट नभएको भनी महालेखा परीक्षकको कार्यालयले आफ्नो प्रतिवेदनमा प्रश्न उठाएको थियो ।
मुख्यमन्त्रीले भन्यो, सरकार बदनाम गराउन नियोजित षडयन्त्र’

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफू र प्रदेश सरकारलाई बद्नाम गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको बताएका छन् । यसबारे आफूले अख्तियार प्रमुख प्रेमकुमार राईसँग टेलिफोनमा कुराकानी समेत गरेको उनले बताए ।
बुधबार बेटी बचाऊ, बेटी पढाऊ अभियान अन्तर्गत प्रदेश सरकारले खरिद गरेको साइकलमा अनियमितता भएको खबर सार्वजनिक भएको थियो । त्यसको केहीघण्टामा नै अख्तियारको केन्द्रीय कार्यालय र बर्दिबासस्थित कार्यालयको टोलीले जनकपुरस्थित मुख्यमन्त्री कार्यालयमा पुगेर छापा मारेको थियो ।

अनियमितताको समाचार भ्रामक भएको दाबी गर्दै मुख्यमन्त्री राउतले भने, ‘त्यसको २÷४ घण्टा बित्न नपाउँदै अख्तियारको टोली छापामारको शैलीमा आउँछ, मानौं कि प्रमाणहरु लोप भइरहेको छ, कसैले नाश गर्न लागेको छ । त्यो शैलीमा आएर छापा मार्छ र तरुन्तै मिडियामा आउँछ, यो सव के हो ? ।’
यसबारे आफूले अख्तियार प्रमुख राईसँग टेलिफोनमा कुराकानी गरेको उनले सुनाए । अख्तियारको शैलीप्रति आफूले आपत्ति जनाएको र राईले पनि कमजोरी स्वीकार गरेको भन्दै प्रदेश २ का मुख्यमन्त्री राउतले भने, ‘यो प्रदेश सरकार र मुख्यमन्त्रीलाई बद्नाम गर्ने षड्यन्त्र हो ।’ प्रदेश सरकार आफैंले जनलोकपाल आयोग गठन गरेको भन्दै मुख्यमन्त्री राउतले अख्तियारले छापा मारेर प्रमाण मात्र लोप गरेको र त्यसले शंका उत्पन्न भएको समेत उनको आरोप छ ।





