एसपी रिपोर्टर
जनकपुरधाम, असोज १२ :
संगीतकार, गायक तथा कलाकार सँतोष राज सहनीको प्रयास र पूर्व मन्त्री प्रभु साहको बजेटले धनुषाको सराबेको विकास निर्माणको काम सुरु भएको छ । पुर्वमन्त्री साहले आफनो गृहजिल्ला रौतहटमा विकासको क्रान्ति गरे जस्तै सहनीले समेत आफनो पैतृक गाँउ धनुषाको सराबेबाट विकासको काम सुरु गरेका छन् ।

पूर्व शहरी विकास मन्त्री प्रभू साहकै पालामा विनियोजन गरिएको बजेटले धनुषाको कमला नगरपालिकास्थित सडक ढलान कार्य सुरु गरिएको छ । सहनीले भने, ‘माननिय प्रभु जीबाट धेरै सिकेको छु अव आफनो गाँउ ठाउँको लागि केहि गर्ने छु ।’ कमला नगरपालिका वडा नम्बर २ सराबे टोलस्थित चर्चित सँगीतकार एवम् गायक समेत रहेका स्थानीय अगुवा सँतोष राज सहनीको विशेष प्रयासमा सो सडक ढलान कार्य सुरु गरिएको हो ।

मँगलबार विहान कमला नगरपालिकाका नगर प्रमुख राम उदगार गोईत र वडा नम्बर २ का वडाध्यक्ष धनेश्वर यादव सहित स्थानीय व्यक्तिहरुले सँयुक्त रुपमा पूजापाठ गरी ढलान कार्यको शुभारम्भ गरेको स्थानीय अगुवा सँतोष सहनीले जनाए । सहनीका अनुसार, सराबे गाउँको विभिन्न ठाउँमा ६०० मिटरको सडकमा पिसिसि ढलान गरिने छ । पूर्व मन्त्री प्रभु साह मन्त्री हुँदा बखत अगुवा सहनीले व्यक्तिगत रुपमा विशेष पहल गरी सराबेको लागि ४५ लाख बजेट विनियोजन गरिएको थियो ।

सो क्रममा स्थानीय पवन सहनीको अध्यक्षतामा गठन गरीएको उपभोक्ता समितिले दिने श्रमदानसहित ५५ लाख रुपैयाँको बजेटमा सो सडक निर्माण हुनेछ । ढलान कार्य मँगलबारदेखि सुरु भएकोले एक महिनाभित्रै सबै कार्य सम्पन्न हुने विश्वास लिएको छ । मौसमले साथ दिए १५ दिनभित्रै सबै (६०० मिटर) को सडक तयारी हुने सहनीले बताए । उनका अनुसार, बढीमा एक महिना र कम्तीमा पनि १५ दिनभित्रै सबै सडकमा पिसिसि ढलान कार्य सम्पन्न हुनेछ ।

बर्षौदेखि कच्ची रहेको सो सडकहरु ढलान हुन थालेपछि स्थानीयहरुमा उत्साह र हर्षाल्लास बढेको छ । अगुवा सहनीका अनुसार, आगामी दिनमा समेत सराबे सहित अन्य आसपासका क्षेत्रहरुमा विकास निर्माणको लागि अग्रसर रहने प्रतिवद्धता जनाए । सडक ढलानको उदघाटनको लागि स्थानीयवासी, युवा, सँचारकर्मी तथा स्थानीय भद्रभलादमीको बाक्लो उपस्थिति रहेको थियो ।