एसपी रिपोर्टर
जनकपुरधाम, साउन २४ : देशको समुचित विकासका लागि कार्य सम्पदान गर्ने मुख्य दुई निकाय जनप्रतिनिधी र कर्मचारी काम गर्ने कुर्सीमै अब मस्त सुत्न थालेपछि देश चल्ने कसरी ? तस्वीर हेर्दा समान्य लाग्न सक्ला, गर्मीको मौसममा कुर्सीमा बस्ने वितिकै आलश्यता हुनु र निद्रा लाग्नु मौसमी कारण हुन सक्ला तर यस्ले धेरै संकेत गर्दछ ।
मान्छेका लागि आराम गर्न र सुत्नका लागि समेत प्रकृतीले दिन रातको व्यवस्था गरेको छ । घरमा जतिवेला पनि आवयश्कता अनुसार सुत्दा फरक नपर्ला तर जिम्मेवारी र कर्तव्य बोध गराउने कार्यालयको कुर्सी र सोफामै देखिएको यस किशिमको हर्कतले जिम्मेवार दुई निकाय कति सम्म गैरजिम्मेवार छ भन्ने कुरा प्रष्ट गर्दछ ।
प्रदेश २ को राजधानी धनुषा जिल्ला स्थित विदेह नगरपालिकाका नगर प्रमुख सर्वहाराको पार्टी भनिने बामपन्थी नेता बेचन दासले आफ्नो कार्यकक्षभित्रै आफु सोफामा मस्त निदाउदै कार्यालय सहयोगीसँग खुट्टामा मालिस गराउँदै गरेको तस्वीर सार्वजानिक भएको भोली पल्टै अर्का कार्यकारी निकाय (कर्मचारी) भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहत रहेको सडक विभाग हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयका कर्मचारी नरेन्द्र यादवको अर्को तस्वीरले जनतालाई झस्काएको छ । यसले गैरजिम्मेवारीको पराकाष्ठा नाघेको चित्रण गर्दछ ।
आइतवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहत रहेको सडक विभाग हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय धनुषाको हालबेहाल देखिएको छ । बिहान सञ्चारकर्मी त्यहाँ पुग्दा एकजना कर्मचारी कार्यकक्षमै मस्त निन्द्रामा सुतिरहेका थिए । कार्यालय समयमा आफ्नो कार्यकक्षमा सुतिरहेका ति कर्मचारी हुन्,सोधपुछ तथा मुआब्जा शाखाका नरेन्द्र यादव ।

रिभल्विङ्ग चेयरमा पल्टिएका उनी टेबलमाथि खुट्टा तल आरामदायी फोम राखेर त्यसमाथी दुबै खुट्टा राखेर मस्त निन्द्रामा सुतिरहेका थिए । कार्यालयमा को आयो, को गयो भन्ने हेक्का उनलाई थिएन । सिलिङमा पंखा घुमिरहेको थियो । उनी भने मस्त निदाएका थिए । कार्यालयका अन्य कोठाहरु पनि खाली थिए । कोठामा पंखा घुमिरहेका थिए भने कार्यालयका अन्य सामग्रीहरु यत्रतत्र छरिएका थिए ।
यस सम्बन्धमा बुझ्नका लागि कार्यालयका सूचना अधिकारी इन्जिनियर बेचन कुमार भण्डारीको मोबाइल नम्बर ९८५४०२९८३२ मा फोन गर्दा उनको सालोले फोन उठाएर भिनाजु अहिले हुनुहुन्न बाहिर जानुभाछ भनेर जवाफ आयो । उनले अफिसको मोबाइल आफ्नो सालोलाई दिएका रहेछन् । उनी पनि आज कार्यालय आएका रहेनछ । संघीयता लागु भएसँगै स्थानीय सरकारको अधिकार र दायित्व बढेका छन् । तर, अधिकार लिने मामिलामा अगाडि देखिएका जनप्रतिनिधी र कर्मचारीको यो हर्कत लज्जास्पद छ ।
यस अघि विकास आयोजना तथा परियोजना सम्बन्धी नीति, कानून, मापदण्ड तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्यांकन र नियमन, आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय, प्रविधि र पूर्वाधार विकासका लागि आवश्यक आयोजना तथा परियोजनाहरूको तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकन गर्नुपर्ने दायित्व रहेको स्थानीय तहका जनप्रतिनिधिले आफ्नो दायित्व बिर्सेर व्यक्तिगत सुख सुविधामा लिप्त भएको तस्वीर भाइरल भयो ।

प्रदेश २ को धनुषा जिल्लास्थित विदेह नगरपालिकाका नगर प्रमुख बेचन दासले आफ्नो कार्यकक्षभित्रै कार्यालय सहयोगीसँग खुट्टा मालिस गराउँदै गरेको फोटो सार्वजनिक हुनुले प्रष्ट बुझ्न सकिन्छ । मेयर दासले आफ्नै नगरपालिकामा काम गर्ने कार्यालय सहयोगी करण दाससँग आफ्नो कार्यकक्षमा सोफामा आरामले बसेर खुट्टा मालिस गराइरहेको तस्बिर समाजिक सञ्जालमा पोष्ट भएपछि उनको चौतर्फी आलोचना भएको हो । कोठाको भित्रबाट चुकुल लगाएर मेयर दासले कार्यालय सहयोगीसँग खुट्टा मालिस गराइरहेको अवस्थामा उनकै नजिकका एक व्यक्तिले सो तस्बिर झ्यालबाट खिचेको बताइएको छ ।
यस सम्बन्धमा मेयर दासले आफूलाई सञ्चो नभएपछि एकछिनका लागि कार्यालय सहयोगीसँग खुट्टा मालिस गराउन लगाएको बताए । उनले कार्यालय सहयोगी करण आफ्नो भाइ रहेकोले यसलाई आफूले सामान्य रुपमा लिएको प्रतिक्रिया दिए । मेयर दासमाथि यसअघि पनि गाउँघरको झगडा तथा अन्य कुनै मुद्दा मामिलामा आफू अनुकुल नभए पीडितलाई नै कुट्न लगाउने, आफ्नै नगरबासीलाई दुःख दिने गरेको लगायतका थुप्रै आरोपहरू छन् ।
विदेह नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सञ्जीव साह र मेयर बेचन दासले मिलेर बिनायोजना करोडौँ कामहरु कागजमै गरेर रकम बाँडफाँड समेत गरेको आरोप छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत साह सुरुदेखि नै विदेह नगरपालिकामा कार्यरत रहेका छन् । उनको अहिलेसम्म सरुवा समेत भएको छैन ।





