एसपी रिपोर्टर
जनकपुरधाम, साउन १२ :
डिभिजन वन कार्यालय सिरहामा फलफुलको विरुवा खरिदमा भएको अनियमीतता र पक्राउ गरिएका अभियानीलाई रिहाईको माग गर्दै प्रदेश नं २ सरकारलाई चार दिने अल्टीमेटम दिएको छ ।

चुरे तथा वनजंगल संरक्षण अभियानका केन्द्रिय अध्यक्ष सुनिल कुमार यादवले मंगलवार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै डिभिजन वन कार्यालय सिरहाको विषयमा पटक पटक छानवीन गर्न प्रदेश सरकारसंग माग गरिएपनि ध्यान नदिएकोले प्रदेश २ को वन मन्त्रालयमा ज्ञापनपत्र वुझाइएको र आउदो साउन १६ गते सम्म छानवीन समिति र पक्राउ परेका अभियानीलाई रिहा नगरिए साउन १७ गते देखि अनिश्चितकालीन समयसम्मका लागि धर्ना,जुलुस लगायतका कार्यक्रम गर्ने वताएका छन ।

उनले साउन २ गते डिभिजन वन कार्यालय सिरहामा ध्यानाकर्षणका लागि शान्तिपुर्ण प्रर्दशनको क्रममा डिभिजन वन कार्यालय सिरहाका प्रमुख सुभाष दासले प्रहरी प्रशासनलाई बोलाएर दमन गर्न लगाएको र आफना दुइवटा अभियानीलाई पक्राउ गरि मुद्दा समेत चलाएकोले छानवीनको माग गर्दा आफु लगायत आफना अभियानीहरुलाई कानुनी झण्झटमा फसाउने षडयन्त्र गरेकोले यथासिघ्र छानवीन र अभियानीलाई रिहाई गर्नुपर्ने माग गरे ।

यता समाजीक अभियन्ता सरोज रायले डिभिजन वन कार्यालय सिरहाका प्रमुख दासकै नेतृत्वमा मारुती सिमेन्टले जवरजस्ती प्रयोग गर्दै आएका वनको जग्गालाई छानवीन पश्चात वनको जग्गा वनलाई फिर्ता दिलाउनका लागि समिति गठन गरिएपनि समिति गठन भएको डेढ वर्ष वित्न लाग्दा समेत सो विषयको छानवीन नभएकोले वनको जग्गा फिर्ताका लागि आवश्यक पहल गर्न प्रदेश सरकारसंग माग गरे ।

चुरे तथा वनजंगल संरक्षण अभियानले अघि सारेका मागहरु मा अभियानी सुरेश कुमार महतो र सुरेश कुमार सिंहलाई अविलम्व रिहा,वन नियमावली २०५१ को दफा २२लाई मिचेर वनका डेफो सुभाष दासले आर्थिक कार्यक्रम संचालन गरेको सम्वन्धमा छानवीन गर्नुपर्ने,मारुती सिमेन्टले प्रयोग गर्दै आएको जग्गालाई छानवीनका लागि गठन गरिएको समितिले लामो समय सम्म पनि प्रतिवेदन सार्वजनिक नगरिएको सम्वन्धमा छानवीन गर्नुपर्ने,फलफुलको विरुवा खरिदमा देखिएको व्यापक अनियमीतताको छानवीन र आर्थिक वर्ष २०७६÷०७७ र आर्थिक वर्ष २०७७÷०७८ मा वन कार्यालय सिरहाले गरेका कार्यहरुको अविलम्व छानवीनको माग गरेको छ । तोकिएको मिति भित्र छानवीन समित गठन नगरिए साउन १७ गते देखि अभियानी अमन यादवको संयोजकतवमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको अगाडी अनिश्चितकालीन आन्दोलन सुरु गर्ने जनाइएको छ ।