एसपी रिपोर्टर
महोतरी, साउन ८ : महोतरीको सोनमा गाँउपालिका भ्रष्टाचारको आखाडा बन्दै गएको छ । गाँउपालिकाको अध्यक्ष, उपाध्यक्ष सहित वडा अध्यक्षहरुको मौजमस्ती र भ्रष्टाचारले सिमा नाघेपछि युवाहरु भ्रष्टाचार विरुद्वको अभियान थालेका छन् । नाम उल्लेख नगर्ने सर्तमा युवाहरु गाँउपालिकाको भ्रष्टाचारको फेरिहस्त यसरी सुनाएका छन् ।
भ्रष्टाचार भ्रमण, खाजा, इन्धन र साइकल देखि सफाई गर्ने झारु सम्ममा पनि यति छ कि बिना कमाई कुनै पनि कामै नभएको देखिन्छ । आर्थिक वर्ष २०७५/०७६ को २०७७ मा सार्वजानिक महा लेखा परिक्षणको प्रतिवेदन अनुसार छात्राहरुलाई प्रदान गरिने साइलकल प्रति थान ११ हजार ८ सय ६५ रुपैयामा किनिएको छ भने सफाई गर्ने झारुको प्रति थान मुल्य १ सय ८० रुपैया प्रतिवेदनमा उल्लेछ ।
बजारमा खुद्रामा प्रतिथान ८० रुपैयामा पाउने झारु गाँउपालिकाले १ सय ८० मा किन्दा १ सय २० प्रतिशत थप रकम भ्रष्टाचार भएको देखिन्छ । फोहर राख्ने डष्टवीन प्यानको १ सय ४० रुपैया हो भने डष्टवीन प्रतिथान २५ सय १५ रुपैयमा खरिद गरिएको छ ।
अध्यक्ष उपाध्यक्ष र वडा अध्यक्षको सरकारी मौज
गाँउपालिकाको कार्यालयमा पिउने पानीको समेत उचित व्यवस्था देखिदैन तर एक वर्षको होटलको बिल (खर्च) १२ लाख १७ हजार ५ सय रहेको छ । गाँउपालिका प्रमुख अध्यक्ष राज कुमार यादवको मात्र भ्रमण खर्च २ लाख ७७ हजार छ सय रहेको छ भने उपाध्यक्ष विभा देवी साहको भ्रमण खर्च १ लाख ३५ हजार २ सय देखिन्छ ।
भ्रष्टाचारले यती सम्म सिमा नाघेको छ कि वडा अध्यक्ष अशोक यादवको पनि भ्रमण खर्च १ लाख ३३ हजार उल्लेख छ । वडा अध्यक्षद्वय पुलिन्द्र यादव र महेश यादवले पनि करिव एक/एक लाखको दरले भ्रमण खर्च उठाएको देखिन्छ । तिनजनै वडा अध्यक्षहरु उनकै पार्टीबाट चुनाव जितेका छन् । कुल आठ वडा मध्ये चारवटा वडा अध्यक्ष र अध्यक्ष, उपाध्यक्ष समेत गरि अध्यक्ष यादव गाँउपालिकामा बहुमतमा रहेका छन् ।

एकलाखको आइफोन मोबाइल समेत किनेको प्रतिवेदनमा देखाइएपनि त्यो फोन कस्को जिम्मामा रहेको भने उल्लेख छैन । स्थानिय युवाहरुका अनुसार अध्यक्ष यादव आफुले किनेको भारतिय नम्वर प्लेटको गाडी कहिले काही प्रयोग गर्ने गरेको भएपनि आर्थिक वर्ष २०७६/०७७ मा प्रति महिना एक लाखको दरले गाडी भाडा मात्र असुलेका छन् । त्यस अतिरिक्त उनीले गाडीमा इन्धन लिने गरेका छन् । यी त प्रतिवेदनबाट झिकिएका केहि उदाहरण मात्र हुन सम्पुर्ण प्रतिवेदन हेर्दा गाँउपालिका भ्रष्टाचारको आखाडा स्पष्ट हुन्छ ।






