एसपी रिपोर्टर
जनकपुरधाम, असार १५ : धनुषाको सबैला नगरपालिकामा हुँदै आएको भ्रष्टाचारको भण्डाफोर गर्नका लागि युवाहरुले अभियान थालेका छन् । अल्पमतमा रहेका नगरप्रमुख विजयशंकर साह बहुमतमा रहेकाहरुको एक सदस्य भएर काम गर्न थालेपछि युवाहरु भ्रष्टाचार विरुद्वको अभियान थालेका छन् ।
सबैला नगरपालिकाका युवाहरुले ५१ सदस्यीय भ्रष्टाचार बिरुद्ध संयुक्त संघर्ष समिति गठन गरेर भ्रष्टाचार बिरुद्धको अभियान संचालनमा ल्याएको हो । नगरवासीले स्थानीय सरकार पाएको ४ वर्ष हुनै लागे पनि विकासको अनुभूति गर्न नसकेको बरु भ्रष्टाचार मौलाएको भन्दै यो अभियान संचालनमा ल्याउनु परेको समितिका संयोजक सुरेश यादवले जानकारी दिए । समितिका सवै दलका प्रतिनिधीहरुको सहभागिता रहेको छ ।
युवाहरुले गत जेठ २३ गते नगरपालिकाको हरहिसाब सार्वजनिक गर्न माग गर्दै सूचनाको हक प्रयोग गर्दै सूचना माग गरे । तर नगरपालिकाले सूचना उपलब्ध गराउनुको साटो उल्टै दुव्र्यवहार गर्न थालेपछि अभियान चलाएरै भण्डाफोर गर्ने निश्कर्षमा पुगेको संयोजक यादवले बताए । जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै नगरपालिका भित्र भएका भ्रष्टाचारको फेहरिस्त उनीहरुले सुनाएका थिए ।

सबैला नगरपालिकामा आर्थिक वर्ष २०७५÷०७६मा ठील्ला सडकखण्डको निर्माणका लागि ६७ लाख रुपैया निकासा भएको थियो जबकि त्यो सडकमा मुश्किलले १२ लाखको काम मात्रै भएको स्थानीय माओवादी केन्द्रका नेता विजय साहले बताए । सोही सडकमा फेरी नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ मा फेरी ५० लाख रुपैया कामै नगरी निकासा गरिएको पाइएको छ ।
त्यस्तै सबैला वडा नम्बर १ स्थित दुर्गा पथको डीपीआर निर्माणका आर्थिक वर्ष २०७५÷०७६मा ५५ लाख निकास भएको छ तर बुझाइएको डीपीआर मलंगवा सडकखण्डको रहेको दावी समितिको छ । नगरपालिकाको भवन निर्माणमा समेत व्यापक भ्रषटाचार भएको पाइएको छ । नगरपालिकाको भवन निर्माणको ३ फीट जति फाउण्डेशनको काम मात्रै भएको छ । तर नगरपालिकाले त्यसको नाममा १ करोड ५० लाख रुपैयाँ माग गरेको थियो । लेखा प्रमुखले निकासा गर्न नमानेपछि पटक पटक लेखा प्रमुखलाई भगाएर अर्का एक लेखा प्रमुखसंग ९६ लाख रुपैयाँ २ वर्षमा निकासा गरि सकिएको साहले दावी गरे ।
साथै पहिलो चरणको कोरोना महामारीको समयमा सबैला नगरपालिकामा संचालनमा ल्याइएको क्वारेण्टाइनमा भएका खर्चको विवरण सार्वजनिक गर्दा नगरप्रमुख विजयशंकर साह त्यसका लागि तयार नभएको समितिका संयोजक यादवले आरोप लगाए । उनले भने ‘मेयर साहेवले बरु राजिनामा दिन्छु तर क्वारेण्टाइन् संचालनमा भएको खर्च सार्वजनिक गर्दिन भनेका थिए ।’ समाजिक सुरक्षा भत्ताको मात्र ८ करोड रकम बेरुजु रहेको कांग्रेसका युवा नेता मिथिला साहले बताए । सवैलाबाट समितिमा आवद्व सवै राजनितिक दलका प्रतिनिधीहरु जनकपुरधाम आएका थिए ।





