एसपी रिपोर्टर
जनकपुरधाम, असार ३ :
क्लोथ बैंक नेपालले पाँच छोरीहरु (बालिका) एकै पटक गुमाएको धनुषाको मुखियापट्टी मुसहरनियाको लक्ष्मीपुर पुगेर शोकाकुल परिवारजनसंग भेटघाट गर्नुका साथै केहि राहतको सरसमान समेत वितरण गरेको छ । बैंकका उपाध्यक्ष पुरन साहको अगुवाई र प्रदेश २ प्रमुख डा. राजेश अहिराजको विशेष उपस्थितीमा पिडित परिवारजनको घर घरमै पुगेर दुःख बाडनुका साथै हौसला बढाउने काम समेत गरिएको छ ।

राहतमा प्रदेश २ प्रमुख डा. राजेश अहिराजको व्यक्तिगत तलबबाट प्रति परिवारलाई एक/एक क्वीन्टल चामलका साथै बैंकको तर्फबाट लुगा, झुल, कम्वल, मास्क, सेनिटाइजर र चार पिस साबुन वितरण गरिएको छ । प्रदेश प्रमुख डा. अहिराजले पाँचवटै शोकाकुल परिवारको घरमै पुगेर घटना बारे जानकारी लिनुका साथै दुःखमा नआतिएर सवैजना मिलेर साहसका साथ अगाडि बढन आग्रह गरेका छन् ।

गाँउमा बैंक तथा प्रदेश प्रमुखको टोली सहित उपस्थितले एक मिनेट मौन धारण गरि मृतकहरु प्रति श्रद्धाञ्जली अर्पण गरेको थियो । बैंकका अभियानी तथा मुटुरोग विशेषज्ञ डा. अजय मिश्र तथा बैंकका सचिव मनिष श्रीओम, कृष्णा साह, खुस्बु साह र मनोज पण्डित सहितको टोली प्रदेश २ प्रमुख डा. अहिराल सहित पिडितको घर पुगेको थियो ।

महिला आयोग पनि पुग्यो

प्रदेश २ प्रमुख लक्ष्मीपुरमा पिडित परिवारजनको घरमा पुगी रहँदा महिला आयोगको टोली समेत गाँउमा पुगेको थियो । अयोगकी आयुक्त विद्या शिन्हा सहितको टोली लक्ष्मीपुर पुगेर पिडित बालिकाहरुको आमा र बुवा सहित परिवारजन र स्थानिय संग घटनाको विषयमा जानकारी लिनुका साथै मृतक पाँचैजना बालिकाहरुनै रहेकाले सक्दो सहयोग गर्ने बताए ।

धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिकाको बहेडाडावेला र तुल्सीयाहीको बिचमा रहेको स्थानीय हुलाश यादवको बन्न लागेको माछा फार्मको पोखरीमा डुबेर स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी भगत, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मञ्जु पुर्वे, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी ठाकुर र उतिम साह तेलीकी १२ वर्षीया नातिनी ललिता साहको मृत्यु भएको थियो ।