चाँदनी झा
जनकपुरधाम, असार ३ :
प्रदेश २ सरकारले जनकपुरधाममा एक सय शैय्याको कोभिड विशेष अस्पताल आजबाट सञ्चालनमा ल्याएको छ । सरकारको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधामको अधिनमा सञ्चालन हुने गरि वडा नंं १५ मुजेलिया स्थित बिना प्रयोगमा रहेको मणिपाल शिक्षण अस्पतालको भव्य भवनलाई थप मर्मत सम्भार गरेर प्रदेश सरकारले कोभिड विशेष अस्पतालका रुपमा सञ्चालनमा ल्याएको हो ।

कोभिड विशेष अस्पतालको मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकास मन्त्री नवलकिशोर साहले आज संयुक्त रुपमा समुदघाटन गरेका छन् । विगत १ वर्ष अघि देखी नै उक्त भवनमा कोभिड विशेष अस्पताल सञ्चालन गर्ने प्रयास गरिए पनि विभिन्न अवरोधहरू उत्पन्न हुदै आएको थियो । तर पछिल्लो कोरोनाको दोस्रो लहरमा जिल्ला प्रशासन कार्यालय धनुषाले संक्रामक ऐनको प्रयोग गरेर कोभिड अस्पताल बनाउनका लागि भवन प्रयोग गर्नका लागि प्रदेश सरकारलाई दिने निर्णय गरेपछि प्रदेश सरकारले करिब साढे तीन करोडको लागतमा मर्मत एवं सम्भार गरेर सञ्चालनमा ल्याउन सफल भएको छ ।

समुदघाटन कार्यक्रमलाइ सम्बोधन गर्दै मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति समेत रहेका मुख्यमन्त्री लालबाबु राउतले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोभिड संक्रमितहरुको उपचारका अतिरिक्त अन्य विशेषज्ञ स्वास्थ्य सेवाहरू समेत यसै अस्पतालबाट सञ्चालन गर्ने बताए ।

भिडियो

उनले मणिपाल शिक्षण अस्पताल सञ्चालनका लागी सरकारबाट जग्गा लिजमा लिएको दशकौँ बितिसक्दा समेत अस्पताल सञ्चालन गर्न नसकेकाले सो संस्थाको लिज खारेजी गराई उक्त जग्गा प्रतिष्ठान मातहत ल्याउने पहल शुरु भई सकेको जानकारी गराए । मुख्यमन्त्री राउतले यो अस्पतालले अव कोभिडको उपचार मात्र नगरेर अन्य गंभिर प्रकारको रोगहरूको उपचार गर्ने बताउँदै राज्यको अरबौँको जग्गा कुनै एक संस्थाले नियन्त्रणमा लिएर उपयोग विहीन बनाउने काम हुनु दुःखद रहेको समेत बताए ।

प्रदेश नंं २ का सामाजिक विकास मन्त्री नबल किशोर साहले प्रदेश सरकारको गौरवको योजना रहेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वास्थ्य उपचारको क्षेत्रमा मुलुककै नमुना प्रतिष्ठान बन्ने विश्वास व्यक्त गरे । उनले छोटो समयमा नै प्रतिष्ठानले ४ विद्यामा केन्द्रीय चिकित्सा आयोगबाट शिक्षणको अनुमति प्राप्त गरेको बताउँदै विपिएच, बिएन, विएमएलटी लगायतको विषयहरूको अध्यापन यसै शैक्षिक सत्रबाट शुरु गर्ने बताए ।

प्रतिष्ठानका उपकुलपति डा. राम केवल साहले चार विषयको अध्यन्न अनुमती र कोभिड विशेष अस्पतालको सञ्चालन प्रतिष्ठानको छोटो समयको दिर्घकालिन सफलताको रुपमा रहने बताए । समारोहमा मुख्यन्यायधिवक्ता दीपेन्द्र झा, सुरक्षा निकायका प्रमुखहरू, प्रतिष्ठानका पदाधिकारी तथा प्रादेशिक अस्पतालका प्रमुख एवं चिकित्सकहरू तथा समाजका अन्य क्षेत्रका व्यक्तिहरू उपस्थित थियो । कार्यक्रममा भवनको पूर्ननिर्माणका लागि प्राविधिक क्षेत्रको जिम्मा लिएका सिनियर डिभिजनल इन्जिनियर भगवान झाले प्राविधिक प्रतिवेदन पेश गरेका थिए ।