एसपी रिपोर्टर
जनकपुरधाम, असार १ : मात्र चार महिना अस्थापनको छोटो सयममै प्रदेश २ सरकारको महत्वकांक्षी आयोजना मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले चार विषयमा शिक्षा प्रदान गर्ने स्वीकृती पाएको छ । चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई चार विषयहरुमा उच्च प्रावधिक शिक्षा प्रदान गर्ने स्वीकृती प्रदान गरेको प्रतिष्ठानका उपकुलपती डा. रामकेवल साहले बताए ।
प्रतिष्ठानले चालु शैक्षिक सत्रबाट सो स्वीकृत पाइरहँदा अर्का चर्चित संस्था मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडालाई भने मात्र ३ वटा विषय अध्यापन गराउने अनुमती दिइएको छ । चिकित्सा शिक्षा आयोगले बागमती प्रदेश सरकारले स्थापना गरेको प्रतिष्ठानलाई चालु शैक्षिक सत्रबाटै पहिलो बर्षमा चिकित्सा शास्त्रका तीन वटा बिषय पढाउने अनुमति दिएकोमा मधेश प्रतिष्ठानलाई एक विषय बढि चार विषयको अध्यापन अनुमती दिइएको हो ।
डा. साहले भने, ‘प्रतिष्ठान मात्र होइन मधेशकै लागि खुसीको कुरा हो, समाजिक विकास मन्त्रालय तथा प्रतिष्ठानका पदाधिकारीहरुको मेहनत आज रंग ल्याउन सफल भयो ।’ साथै प्रतिष्ठानले असार ३ गते देखि एक सय बेडको कोभिड अस्पतालको कार्य समेत आरम्भ गर्न गइरहेको उपकुलपती प्रा.डा.साहले बताए ।





