एसपी रिपोर्टर
जनकपुरधाम, जेष्ठ २६ :
प्रदेश २ मा जसपा (उपेन्द्र यादव), कांग्रेस र माओवादीको संयुक्त सरकारको मन्त्री परिषद गठन हुने निश्चित भएको छ । अहिले साँझ साढे सात बजे नयाँ मन्त्रीहरुको सपथ ग्रह्णको कार्यक्रम छ ।

प्रदेश सरकारका लागि बनाइएको वर्तमान संरचना निकै वैज्ञानिक रहेको बताउदै निवर्तमान राज्यमन्त्री सुरेश कुमार मण्डलले बन्न लागेको २१ सदस्सीय मन्त्री मण्डल जनताको टाउकोमा बोझ हुने टिप्पनी गरेका छन् । फेसबुकमा स्टाटस लेख्दै निर्वमान उद्योग, पर्यटन, बन तथा वातावरण राज्यमन्त्री मण्डलले छ मन्त्री र मन्त्रालय हेर्न प्रयाप्त कर्मचारी नरहेको अवस्थामा एकैपटक चारगुणा बढी मन्त्रीको भार थाम्न गा¥हो हुने राज्य मन्त्री मण्डलको बुझाई छ ।

उनले फेसबुकमा लेखेका छन, ‘देशको आर्थिक अवस्थालाई ध्यानमा राखी बनाइएको हालको यो संरचना प्रदेश सरकारलाई कम खर्चिलो र काम छिटो छरितो हुने खालको छ । एक मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र बाँकी छ वटा मन्त्रालयहरु हुँदापनि कर्मचारी अभाव सधैं झेल्नु परेको थियो । म जिम्मेवारी पाएको उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयमा पाँचजना उपसचिवको आवश्यकतामा एउटा उपसचिवले काम चलाउनु परेको थियो । महाशाखा प्रमुखहरु बिषयगत रुपमा कहिले पुरा हुन सकेन । सचिवहरुको अस्थिरताले सधैं पिरोली रह्यो । त्यसमाथि संघीय सरकारको प्रदेशप्रतिको वक्रदृष्टि सहीनसक्नु रह्यो ।’

उनले अगाडि लेख्छन, ‘संघीय सरकारको एउटा मन्त्रालय बराबरको बजेटमा सिंगो प्रदेश चलाउन हम्मे हम्मे परेको थियो नै । यस्तो अवस्थामा यो सानो भुगोलमा ८ जिल्लाको प्रदेशमा २१ जना मन्त्री पुर्याउनु अवैज्ञानिक र अव्यवहारिक हुनेछन् । सुन्दापनि अविश्वसनीय । हिडदा हिड्दै कुहिनो ठोकिने प्रबल सम्भावना देख्दैछु म । फेरि संघीय सरकारले कर्मचारी आपुर्तिमा सहजता महसुस गरेन भने सचिव लगायत उच्च पदस्थ अधिकारीहरुको अभाव त्यतिकै पिडादायी हुने नै भयो । त्यति मात्रै होइन, मन्त्रालय मात्र राखेर हुदैन । जिल्ला जिल्लामा लाइन मिनिष्ट्रीको शाखा कार्यालयहरु, त्यसमा चाहिने जनशक्ति र लजिस्टिकहरु व्यवस्थापन कम चुनौतीपूर्ण रहने छैन । अरबौंको फजुल खर्च बढ्ने छ र अन्त्यमा त्यो सबै हाम्रो जस्तो बिपन्न देशको अति गरिब निर्धन जनताको टाउकोमा नै जाने हो । तसर्थ एक पटक सोचौं । केवल सत्ता टिकाउनकै लागि यस्तो किसिमको देश, प्रदेश र जनता कंगाल बनाउने दुरगामी असर पर्ने काम नगरौं । कालान्तरमा यसले अति पिडादायी परिणाम दिने छ । समस्या सबै प्रदेशमा छन । उनिहरुले व्यवस्थापन गरे जस्तै हामी पनि गरौं । आफ्नो व्यक्तिगत स्वार्थ र असक्षमता प्रदेश र यहाँको जनताको ढाँड भाँच्ने गरि नलाधौ । त्यतिकै पनि संघीयता नरुचाउने र खर्चिलो तथा भड्किलो भयो भन्ने जमातहरु छन । उनिहरुको तर्कलाई बल पुग्ने काम नगरौं । संघीयता प्रति जनताको बितृष्णा पैदा नगराऔ । मधेसी जनताको त्याग, तपस्या र वलिदानीबाट प्राप्त उपलब्धि संघीयताको रक्षा गरौं ।’

प्रदेश २ मा आजै कांग्रेस र माओवादी सहित मन्त्री परिषदको विस्तार हुने भनिएपनि मन्त्रालय भागबण्डामा अझै सहमती हुन सकेको छैन । दुबै दललाई सरकारमा ल्याउन हालको छ मध्ये चार मन्त्रालयलाई टुक्राएर आठबटा गरि कुल दश मन्त्रालय बनाउने निर्णय हिजोको मन्त्री परिषदले गरेको थियो । दश मध्ये पाँच आफै, तिन कांग्रेस र दुई माओबादीलाई दिने योजना मुख्यमन्त्री लालबाबु राउतको हो ।

तर कांग्रेसले भौतीक, समाजिक विकास सहितका बजेटबाला मन्त्री ताकेपछि सहमती हुन नसकिरहेको जसपाका एक सांसद बताउछन् । जितेन्द्र सोनलले खाली गरेको भौतीक पुर्वाधारलाई टुक्राएर भौतीक पुर्वाधार र खानेपानी तथा सिचाई बनाइएको छ कांग्रेसले दुवै पाउनु पर्ने बताइरहेका छन भने जसपाले एउटा मात्र दिन खोजिरहेका छन् । आन्तिरक मामिलालाई टुक्राएर आन्तिरक मामिला तथा सुचना सञ्चार गरिने भएको छ । समाजिक बिकासलाई टुक्राएर शिक्षा र स्वास्थ्य बनाउने भएको छ ।