एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २२ :
प्रदेश नं.२ को अस्थायी राजधानी जनकपुरधामस्थित बहुचर्चित मोनाष्टिक आवासीय अङ्ग्रेजी माध्यमिक विद्यालय जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय शोधकार्यका लागि छनोट भएको छ । विश्वको वातावरण अनुकूल बनाउन विद्यालय तहबाट नै जिम्मेवार भएर लाग्नु पर्ने महान विचारका साथ यो परियोजना कार्य तयार गरी सो कार्य सम्पादनका लागि वृटिस काउन्सिल युकेबाट परियोजना स्वीकृत भएको छ । परियोजना सञ्चालनका लागि ५० हजार पाउण्ड रकम छुटाइएको छ ।

यस परियोजना कार्यको मुख्य उद्देश्य संसार भरि विभिन्न धरातलीय प्रदेशको जलवायु परिवर्तनको अवस्था मापन गर्नु रहेको छ । यो सहकार्यका लागि तराईका ३, पहाडका ३ र हिमाली भेगका ४ गरी जम्मा १० वटा विद्यालय छनोट भएका छन् । तराईबाट छनोट भएका विद्यालयहरूमध्ये मोनाष्टिक आवासीय अङ्ग्रेजी माध्यमिक विद्यालय पनि परियोजना सहकार्यका लागि नेपालबाट छानिएको कुरा विद्यालयका मेनेजिङ डायरेक्टर डा.सोनु कुमारले बताए ।

खास गरी युकेअन्तर्गत स्कटल्याण्डको त्यहाँ अवस्थित सबै भौगोलिक क्षेत्रका १० वटा विद्यालयहरू र नेपालका तराई , पहाड र हिमालय क्षेत्रका गरी १० वटा विद्यालयहरूबीच यस परियोजना कार्यमा सहकार्य हुनेछ । यो सहकार्य स्कटल्याण्डको एक विद्यालयसँग नेपालको एक विद्यालयबीच हुनेछ ।

यो परियोजना कसरी सञ्चालन हुन्छ ?

यो परियोजना कार्य सम्पन्न गर्न विद्यालयले आफ्नो विद्यालयमा कक्षा ६ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरूबाट क्लव गठन गरी उनीहरूले जलवायु परिवर्तनसम्बन्धी परियोजना कार्य सम्पन्न गर्नु पर्नेछ । परियोजना सम्पन्न गर्नको लागि विद्यालयमा मौसम मापन केन्द्र राख्ने, कार्बन डाइअक्ससाइड मात्रा मापन, तापमान केन्द्र राख्नु पर्ने, सापेक्षिक आद्रता मापन केन्द्र जस्ता पूर्वाधार राखेर त्यससम्बन्धी अध्ययन अनुसन्धान गरिनु पर्ने उल्लेख छ । परियोजना कार्यमा वायु प्रदूषण र पानी प्रदूषणको अवस्था , कारण र निर्मलीकरणको उपाय समेत अनुसन्धान गरिनेछ ।

अनुसन्धानमा विद्यार्थीले के गर्छन् ?

अनुसन्धानको क्रममा नेपालस्थित प्रत्येक भौगोलिक क्षेत्र (तराई ,पहाड र हिमाली) क्षेत्रको जलवायु, कार्बनडाइअक्साइडको मात्रा, तापक्रम, र सापेक्षिक आर्द्रता मापन गरी एक एक हप्ताको प्रतिवेदन तयार गरी सो प्रतिवेदन स्कटल्याण्डका सहकार्य गर्ने स्कुलहरूसँग पनि तुलना गरिन्छ । ६ महिनापछि यसको जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय स्तरको सम्मेलनमा विशिष्ट वैज्ञानिक शोधकर्ताहरूबाट प्राप्त आँकडामाथि छलफल गरी बिग्रिदो वातावरणीय परिस्थिति सुधारको बाटो अवलम्वन गर्नेतर्फ अग्रसर हुने परियोजनाको उद्देश्य रहेको कुरा मेनेजिङ डायरेक्टर डा.सोनु कुमारले जानकारी गराए ।

सम्मेलन आगामी डिसेम्बर स्कटल्याण्डमा हुँदैछ । सम्मेलनमा परियोजनामा आवद्ध सबै विद्यालयका सहभागीहरूले अनुसन्धान गरेको जलवायु परिवर्तनका आँकडा स्कटल्याण्डको अनुभवी वैज्ञानिकहरूबाट प्रस्तुत गरिन्छ । यो अनुसन्धानबाट प्राप्त प्रतिवेदन माथिको तुलनात्मक छलफल कार्य निरन्तर ५ वर्षसम्म सञ्चालन हुनेछ । यो क्लाइमेट चेन्ज स्टडी परियोजना कार्य सम्पन्न गर्न वृटिस काउन्सिलले प्रत्येक सहभागी विद्यालयलाई आवश्यक आर्थिक अनुदान प्रदान गरी शैक्षिक अभिवृद्धि गर्नका लागि आवश्यक उपकरण तथा भौतिक सामग्री स्थापनामा सहयोग पुरयाउनेछ ।

यो जलवायु सम्वन्धी अनुसन्धनात्मक कार्यले जलवायु परिवर्तनसम्बन्धी ज्ञान, परिवर्तित जलवायुले वातावरणमा पर्ने असर, यसबाट बच्ने उपाय, संयुक्त राष्ट्रसंघको दिगो विकास प्राप्त गर्ने लक्ष्यका बारेमा विद्यार्थीहरू जानकार रहन्छन् । यसका अतिरिक्त विद्यार्थीहरूमा आफ्नो अध्ययनलाई रचनात्मक ढङ्गले अगाडि बढाउने , तार्किक क्षमताको विकास गराउने , विभिन्न शोधपत्र,लेख रचनाको अध्ययनले विद्यार्थीमा खोज तथा अनुसन्धान गर्ने सीप बढाउनका अतिरिक्त तुलनात्मक विश्लेषण गर्न सक्ने क्षमताको प्रचुर मात्रामा विकास गराउन सकिनेछ । त्यस्तै, यो शोधकार्य मोनाष्टिक विद्यालयले स्कटल्याण्डका सेन्ट मेरिज विद्यालयसँगको सहकार्यमा गर्ने कुरा विद्यालयका डा. कुमारले बताए ।