एसपी रिपोर्टर
काठमाण्डौं, जेष्ठ २० :
अमेरिकाले नेपाललाई ‘कोभ्याक्स’ कार्यक्रम अन्तर्गत कोरोना खोप उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपतिको कार्यालयले बिहीबार ‘बिश्वब्यापी खोप रणनीति’ घोषणा गर्दै पहिलो चरणमा २ करोड ५० लाख डोज खोप बिभिन्न मुलुकलाई बितरण गर्ने उल्लेख गरेको छ । जसमध्ये १ करोड ९० लाख डोज खोप कोभ्याक्स कार्यक्रम अन्तर्गत नेपालसहितका मुलुकले प्राप्त गर्नेछन्।

यसमध्ये करिव ६० लाख ल्याटिन अमेरिका र क्यारेबियन देशमा जानेछ । बाँकी ७० लाख दक्षिण र दक्षिणपूर्वी एसिया तथा ५० लाख अफ्रिकामा जाने घोषणा गरिएको छ । एशियाका लागि छुट्याइएको ७० लाख डोज खोप नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, मालदिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्याण्ड, लाओस, पपुन्यूगिनी, ताइवान र एशिया प्यासिफिक आइल्याण्डलाई खोप दिइने घोषणा गरिएको छ ।

बाँकी ६० लाख डोज खोप क्यानडा, मेक्सिको, भारत तथा दक्षिण कोरियका साथै कोरोना महामारीसँग जुधिरहेका देशहरुलाई दिइने राष्ट्रपति बाइडेनले बताए । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकाले नेपाललाई खोप दिने पक्का भएको अनलाइनखबरलाई बताए । उनले भने, ‘नेपाललाई भ्याक्सिन सपोर्ट गर्ने घोषणा भएको छ, अंक चाँहि तोकेको छैन ।’

प्रधानमन्त्रीले दिए धन्यवाद

प्रधानमन्त्री केपी शर्मा ओलीले खोप उपलब्ध गराउने अमेरिकी निर्णयको स्वागत गरेका छन् । खोप उपलब्ध गराउन नेपालले गरेको आग्रहलाई सुनेको भन्दै उनले धन्यवाद दिएका छन् । प्रधानमन्त्री ओलीले ट्वीट गर्दै भनेका छन्, ‘यसले नेपाल र अमेरिकाको मित्रताको मजबुतिलाई पुष्टि गर्छ ।’

अमेरिकाले जुन महिनाको अन्तिमसम्ममा ८ करोड डोज कोरोना खोप विश्वभर सहयोग गर्दैछ । यसमध्ये पहिलो चरणमा दिइने साढे २ करोडको खोप वितरणको योजना अमेरिकी राष्ट्रपति जो बोइडेनले सार्वजनिक गरेका हुन् । कुन क्षेत्र र कुन देशले कति परिमाणमा खोप पाउँछन भन्ने कुरा बाइडेन प्रशासनले गृहकार्य गरेर यकिन गर्ने ह्वाइटहाउसले जनाएको छ ।