एसपी रिपोर्टर
जनकपुरधाम, जेष्ठ १८ : कोरोना भाइरस (कोभिड– १९) को महामारीको बेला राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम, हर्दिनाथ बनिनियाका कार्यालय प्रमुख भानुभक्त पोखरेलले २० टनजति धान चोरेर बेचेका छन् । मुल बिउ उत्पादन गर्ने राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम, हर्दिनाथ बनिनियाको वार्षिक सरदर ६५ देखि ७० टन धान र मुल बिउ समेत उत्पादन हुँदै आएकोछ । तर कोरोना भाइरसको संक्रमण बताउँदै कार्यालय प्रमुख पोखरेल र प्रशासन प्रमुख समेत रहेका स्टोरकिपर गोपाल श्रेष्ठको मिलिभगतमा ४० टन मात्र उत्पादन भएको रेकर्ड देखाइएको छ ।
कोरोना भाइरसको संक्रमणको कारण कर्मचारी र दैनिक ज्यालादारी समेतलाई बिदा दिएर बिनाबिल स्लिप दिएर धान अबैध ढंगले बिक्री गरेको खुलेको छ । समान्य धान प्रति क्विन्टल ७ हजार र मुल बिउ प्रतिक्विन्टल साढे १० हजारको दरले बिक्री हुने गरेकोछ । कार्यालय प्रमुख पोखरेल र श्रेष्ठले मुल बिउ ११ टन र २९ टन समान्य धानको स्टोक देखाएर अन्य स्लिपको अधारमा बिक्री गरेको खुलासा भएकोछ । गत वर्ष मुल बिउको धान २२ टन र ४३ टन समान्य धानको उत्पादन स्टोक थियो । तर यस वर्ष उत्पादन घटेको भन्दै २० टन मध्ये ९ टन मुल बिउ र ११ टन समान्य धान चोरेर बेचेको कर्मचारीहरुले जनाएका छन् ।
कर्मचारीहरुका अनुसार स्टकमा रहेका मुल बिउ र समान्य धानको बिल काटिएको तर त्यस बाहेकको मुल बिउ र समान्य धानको स्लिपको अधारमा बिक्री गरिएको खुलासा भएको छ । समान्य धानको मुल्य ७ लाख ७० हजार र मुल बिउ धानको मुल्य करिब ९लाख ४५ हजारगरि १७ लाख १५ हजारको धान चोरीगरि प्रमुख पोखरेल र स्टोर प्रमुख श्रेष्ठले मिलोमतोमा बेचेका छन् ।

कोरोनाको कारण बिदा दिएर कर्मचारीलाई घरमा बस्न लगाएको बेला स्लिपको भरमा धान बिक्रीगरि १७ लाख बढी झ्वाम्म पारिएकोछ । कार्यालयका सहायक प्रमुख वेदनिधि तिवारीले यस सम्बन्धमा कार्यालय प्रमुखलाई सम्पर्क गर्न बताउँदै जानकारी दिनबाट पञ्छिए । कार्यालयको नियमानुसार बिल काटेर मात्र धान बिक्री गर्नुपर्ने हो । स्टोरमा आम्दानी बाँधिएको धानको बिल काटिएका र आम्दानी नबाँधिएको धान स्लिपबाट बिक्री गरिएको कर्मचारीहरुले जनाएका छन् । स्रोतहरुका अनुसार वैज्ञानिकको पदमा कार्यरत्त रहेका चेतन ज्ञवाली पनि अनियमिततामा लिप्त रहेका छन् ।
चार महिनादेखि कार्यलय प्रमुख पोखरेल कार्यालयमा कमै मात्र देखिएका छन् । तर आएकै बेला किर्ते बिलहरु बनाइने, त्यसको भुक्तानी लिने र हिडने गरेको बताइन्छ । स्वाइल टेस्टका वैज्ञानिक ज्ञवालीले कार्यालयमा आएदेखि हाल सम्म एकपटकपनि कहिं स्वाइल टेस्ट गरेका छैनन् । कार्यालयको ४० लाख रुपैया प्रमुख पोखरेल, ज्ञवाली र श्रेष्ठ मिलेर किर्ते बिलको अधारमा रकम झिकेर झ्वाम्म पारेको बताइन्छ । प्रदेश २ लाई कृषिमा आत्मनिर्भर बनाउने प्रदेश सरकारको तयारी रहेपनि धानबाली कार्यक्रम अनुसन्धान कार्यालय नार्कको मातहत रहेकोछ । कार्यालयको अनुगमन समेत नहुने भएकाले कार्यालय प्रमुख पोखरेल, श्रेष्ठ र ज्ञवालीले व्यापक आर्थिक अनियमितता गरेको कर्मचारीहरुको आरोप छ ।


