एसपी रिपोर्टर
काठमाण्डौं, जेष्ठ १६ :
तेस्रो राष्ट्रिय महिला अधिकार दिवस ‘महिलाको सुरक्षा र अधिकार, संकटकालीन व्यवस्थापन हाम्रो सरोकार’ भन्ने नाराका साथ मनाइएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा सातै प्रदेशबाट एक एक जना उत्कृष्ट महिला उद्यगीलाई ‘राष्ट्रपति महिला उद्यमी समुन्नति पुरस्कार’ को समेत घोषणा गरिएको थियो । प्रदेश २ बाट सो पुरस्कारका लागि धनुषाकै एक महिला छनौट भएकी छन् ।

धनौजी गाँउपालिकाकी सरिता देवी मण्डल प्रदेश २ बाट सो पुरस्कारका लागि छनौट भएकी छन् । उनी सहित पुरस्कृतहरुलाई महिला मन्त्रालयले अनुकूल समयमा विशेष कार्यक्रमको आयोजना गरेर १ लाख नगद सहित कदर पत्र प्रदान गर्ने बताइएको छ ।

सोहि अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको शुभकामना सन्देशमा लैगिक समानता तथा महिला अधिकार सुनिश्चितताको लागि लामो समयदेखि भएका संघर्षहरुलाई आजको दिनले सम्मान र पहिचान गरेको बताएकी छन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले महिलामाथि हुने कुनैपनि किसिमका हिंसा सह्य नहुने भएकाले सरकार त्यसतर्फ चनाखो रहेको बताए ।

महिला बालबालिका तथा जयेष्ठ नागरिक मन्त्री जुली महताले महिलामाथि हुने हिंसामा कतिपय अवस्थामा महिलाहरु नै संलग्न हुनुलाई गम्भीर रुपमा लिनुपर्ने बताइन । कार्यक्रममा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले देशमा लैगिक हिंसा विकराल सामाजिक रोगको रुपमा बढ्दै र फैलिँदै गएकोले हिंसा नियन्त्रणमा राज्यले अवलम्बन गरेका कानुनी व्यवस्थाहरु निरर्थक रहेको बताइन नेपाली महिलाको अधिकारलाई नीतिगत र कानुनीरुपमा सुनिश्चित गर्ने आधार संसदबाट निर्माण गरिएको सोही दिनका स्मरणस्वरुप जेष्ठ १६ गतेलाई राष्ट्रिय महिला अधिकार दिवसको रुपमा मनाउन थालिएको हो ।